काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमानभन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताएका छन् । राजधानीमा आयोजित एक अन्तक्र्रियाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताए ।
गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६/५७ प्रतिशत उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताए ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुर्नकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरूले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुर्नकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ,’ गभर्नर अधिकारीले भने ।
यही आर्थिक वर्षमा प्रणालीमा रहेको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले ‘अप्ठेरा परेकामा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे भन्ने कुरा हामी चैत पछि मूल्याङ्कन गर्छौं ।’
असोजमा मात्रै पुर्नकर्जाको आवेदन माग भएर कात्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुत्थान कार्यविधि मंसिरमा मात्रै आएकाले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर अधिकारीको भनाइ थियो । चैतसमममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उनको भनाइ थियो ।
कोभिड पछिको आर्थिक पुनरुत्थानका लागि गत वर्षको चौथो त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब रुपैयाँभन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब रुपैयाँ पुर्नकर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिए । स्वीकृत भएको ८१ अर्ब रुपैयाँको पुर्नकर्जामध्ये अधिकांश १५ लाखभन्दा साना कर्जामा गएको जानकारी दिँदै उनले पुर्नकर्जाकर्जाको उपयोग एसएमई क्षेत्रमा बढी भएको दाबी गरे ।
‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुर्नकर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाखभन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गर्भर अधिकारीले भने ।