काठमाडौं । डिल्लीबजार मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ को राजस्व सङ्कलनमा ४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आवको राजस्व सङ्कलनमा उक्त रकमले कमी आएको हो ।
मालपोत कार्यालयका अनुसार, आव २०७४/०७५ मा ३ अर्ब १९ करोड रुपैयाँ राजस्व उठेको थियो भने गत आवमा ३ अर्ब १५ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । कार्यक्षेत्रभित्र पर्ने घर जग्गा खरिद बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको हो ।
अघिल्लो वर्षको तुलनामा जग्गा किनबेच, नामसारी, खरिदबिक्री र कित्ताकाटमा आएको कमीका कारण राजस्व सङ्कलनमा गिरावट आएको कार्यालयका लेखा अधिकृत राजेन्द्र न्यौपानले जानकारी दिए ।
यस कार्यलयमा काठमाडौं महानगरभित्रका मुख्य ३३ ओटा वडाका मालपोतसम्बन्धी, घरजग्गा नामसारी, खरीदबिक्री र किताकाटको काम यहीँबाट हुने गरेको छ । काठमाडौंको धेरै जसो वडाको काम यहाँबाट हुने हुँदा कार्यालयमा वडागत रुपमा तीन ओटा रेजिस्ट्रेसन विभागमा विभाजन गरी कसरी छिटो सेवा दिन सकिन्छ भनी व्यवस्थापन गरिएको कार्यालयका प्रवक्ता बुद्धिबहादुर कार्कीले जानकारी दिए ।
‘गत आर्थिक वर्षमा धेरै जसो मुद्दामामिला आएको र सरकारले केही समय जग्गा कित्ताकाटमा रोक लगाएकाले पनि राजस्व सङकलनमा कमि आएको हो,’ प्रवक्ता कार्कीले भने ।
काठमाडौंको मुख्य व्यापारिक केन्द«देखि आकर्षक जग्गा पनि यही कार्यालयको क्षेत्रभित्र पर्ने भएकाले अरु कार्यालयको भन्दा यहाँ राजस्व सङ्कलन बढी हुने गरेको प्रवक्ता कार्कीले बताए ।