काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारीसाधानको आयात बढाएर राजस्व लक्ष्य पुर्याउन नचाहेको बताएका छन् । विगतका सरकारले सवारीसाधनको आयात बढाएर राजस्व लक्ष्य पूरा गरेको बताउँदै उनले गाडी आयातलाई निरुत्साहित गर्ने रणनीति लिएको जानकारी दिए ।
अहिले सवारी साधनको आयात घट्दा राजस्वमा चाप परेको बताउँदै पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले बृद्धि भएको जानकारी दिए । गत आर्थिक वर्षमा सरकारले लिएको राजस्व लक्ष्य पूरा नभएपछि अर्थमन्त्रीको यस्तो भनाइ आएको हो ।
अर्थमन्त्री डा.खतिवडाले देशको बढ्दो व्यापारघाटा कम गर्न उत्पादनमा जोड दिइरहेको बताएका छन् । व्यापार घाटा कम गर्न सरकारले उत्पादनलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने तर्फ सोच बनाएर आवश्यक नीति बनाउन लागिएको खतिवडाले जानकारी दिए ।
भन्सार व्यवस्थापन गोष्ठीको उद्धघाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय पुँजी निर्माण र उद्योगको संरक्षण गर्न सरकार लागिपरेको बताए । सरकारले लिएको नीतिले उद्योगलाई संरक्षण गर्नुका साथै थप उद्योग आउन सहज हुने उनको विश्वास छ ।
‘नेपाल विदेशी वस्तुको डप्पिङ साइट बन्न लागेको छ, अर्थमन्त्री खतिवडाले भने, अब त्यसलाई अन्त्य गर्न आवश्यक छ ’।
अर्थमन्त्री खतिवडाले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले उच्च भन्सार दर लगाएको बताए । नेपालमा उत्पादन गर्नको लागि राज्यले संरक्षण गरेका व्यवसायमा लगानी बढाउने वातावरण निर्माण गरिरहेको उनको भनाई छ ।
भन्सारले दिएको लाभलाई उपयोग गर्न व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह थियो । अहिले कच्चा पदार्थ र तयारी वस्तुमा भन्सार तह फरक पारिएको बताउदै कतिपय वस्तुमा मिलाउनुपर्ने अवस्था रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
नेपालमा खुला सिमाना भएको कारण १०/१० किलोमिटरको दुरीमा भन्सार कार्यालय राख्न सम्भव नभएको भन्दै चोरी पैठारीलाई नियन्त्रण गर्न सके राजस्वमा बृद्धि हुने बताए ।