काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सार विभागले गरेको भ्रष्टाचार सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छन् ।
उक्त सर्वेक्षणमा उनी स्वयं सहभागी भएको बताउँदै यसलाई सार्वजनिक गर्न माग गरेका हुन् । उनले सर्वेक्षण कार्य सराहनीय भएको उनले बताए । यसको नतिजा मैले हेर्न पाएको छैन । यदि यो आम सर्वसाधारणसम्म पुग्न सक्यो भने यसले सबैलाई फाइदा नै पुग्नेछ उनले भने ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अहिले भन्सारबाट छुटेको सामान राजश्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको जानकारी गराए । उनले भने एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस भन्ने हाम्रो चाहना हो । यसले व्यवसायीलाई त्रसित बनाउनुका साथै समस्या पनि सिर्जना गरेको छ ।
भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरणको हो । हाम्रो भनाइ भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक हुनुपर्ने उनको भनाइ छ । सरकारको राजस्व पनि नगुमोस र पैठारीकर्तालाई पनि भन्सार मूल्यांकन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नु नहुने उनको भनाइ छ ।
भन्सारसम्बन्धी विवाद समाधान गर्न एक सयन्त्र बनाउन गोल्छाले प्रस्ताव गरेका छन् । निजी क्षेत्र र सरकार एक अर्काका परिपूरक भएको बताउँदै उनले भने निजी क्षेत्रको उपक्रम बिना मुलुकमा सम्पत्ति सिर्जना नहुने र सरकारको सहयोग बिना निजी क्षेत्र एक्लै अगाडि बढ्न पनि सक्दैन । आजको यो कार्यक्रम पनि त्यही हो उनले भने ।
बैंक वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा भइरहेको निरन्तरको वृद्धिले पनि अर्थतन्त्रमा सुधार हुँदै गएको देखाएको उनको भनाइ छ । उनका अनुसार असोज यतामात्रै कर्जा प्रवाह २ खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास र गत वर्षको सोही अबधीको तुलना गर्ने हो भने कर्जा कम्तीमा ४० अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ ।
यसबीचमा निर्यात पनि करिब १० प्रतिशतले बढेको छ । आयात घटेको छ । शोधनान्तर अवस्था निरन्तर नाफामा छ । आयात निर्यात व्यापार सहजीकरणका लागि हामीले निकै धेरै नीतिगत कानुनी सुधार गरे पनि हाम्रो व्यापार निक्कै झन्झटिलो र खर्चिलो रहँदै आएको गोल्छाले सुनाए ।
तीन वर्षअधि एसियाली विकास बैंक (एडीबी) र यूएनस्कापले गरेको एक अध्ययनले तेस्रो मुलुकहरुमा वस्तु निर्यात गर्दा २८ र आयात गर्दा ३१ दिन लाग्ने देखाएको छ। यसैगरी आयात खर्च १५ सय ४० र निर्यात खर्च १३ सय २० डलर भएको पनि सोही अध्ययनले देखाएको छ । सोही अध्ययनले आयातका लागि २८ र नियातका लागि २० वटा विभिन्न कागजात पेस गर्नुपर्ने पनि देखाएको छ ।