काठमाडौं । नेपालमा आर्थिक पूर्वाधारको अभाव र झण्झटिलो व्यवस्थाका कारण एक कन्टेनर सामान निर्यात गर्न २८ दिन लाग्ने गरेको पाइएको छ ।
सरकार आर्थिक पूर्वाधार निर्माणमा गम्भीर नबन्दा आयात/निर्यातमा लाग्ने समय अत्यधिक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।
‘अहिले एक कन्टेनर सामान निर्यात गर्न २८ र एक कन्टेनर सामान आयात गर्न ३१ दिन लाग्छ,’ महासंघका अध्यक्ष गोल्छाले भने, ‘यस्तो अवस्थाकाबीच कसरी देशबाट सामान निर्यात गर्न सकिन्छ ?’
नेपालको व्यापार एकदमै खर्चिलो भएकाले उत्पादन लागत महँगो भएको उनको भनाइ छ । जबकि, अहिलेको खर्चका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।
‘व्यापार सहजीकरणका लागि आर्थिक पूर्वाधारको निर्माण अनिवार्य हुनुपर्छ,’ गोल्छाले भने, ‘तर, त्यतातिर कुनै पनि सरकारी निकायको ध्यान दिइएको छैन् ।’
उनका अनुसार तीन वर्षअधि एसियाली विकास बैंक (एडीबी) र यूएनस्कापले गरेको एक अध्ययनले तेस्रो मुलुकहरुमा वस्तु निर्यात गर्दा २८ र आयात गर्दा ३१ दिन लाग्ने देखाएको छ ।
यसैगरी आयात खर्च १५ सय ४० र निर्यात खर्च १३ सय २० डलर भएको पनि सोही अध्ययनले देखाएको छ । सोही अध्ययनले आयातका लागि २८ र निर्यातका लागि २० वटा विभिन्न कागजात पेस गर्नुपर्ने पनि देखाएको छ । सरकारले व्यापार सहजीकरणमा काम गर्ने बताए पनि अहिलेसम्म व्यवहारिक रुपमा त्यस्तो हुन नसकेको उनको भनाइ छ ।
‘डुइङ बिजनेस रिपोर्ट २०२०’ मा नेपालले औद्योगिक उत्पादनको लागत घटाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा रोजगारदाता कम्पनीहरूले कर्मचारीको सामाजिक सुरक्षा प्रबन्ध गरी व्यवसाय सुरुवात गर्न गाह्रो बनाएको तथा नेपालमा सम्पत्ति दर्ता बढी महँगो रहे पनि नेपालले सुधार गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।