काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा केही कडाइ गर्ने आशंका बढेपछि मंगलबार बजार ओरालो लागेको छ । राष्ट्र बैंकले फागुनको पहिलो साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षा गर्दैछ ।
समीक्षामा सेयरधितो कर्जा सीमामा अंकुश लगाउने आशंकामा लगानीकर्तामा परेपछि मंगलबार बजार घटेको बताइएको छ । अहिले सेयरधितो कर्जा सीमा ७० प्रतिशत र गणनाविधि १२० दिनलाई पुनरावलोकन गर्ने आशंका लगानीकर्तामा छ । यही आशंकाको असर मंगलबारको सेयर बजारमा देखिएको छ । यसको असर आगामी दिनमा पनि पर्ने संभावना छ ।
मंगलबार बजार २९ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५३२ अंकमा झरेको छ । मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार ८ अर्ब १४ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार १० अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।
यसको असर मौद्रिक नीतिको समीक्षाले पारेको अनुमान गरिएको छ । बजार खुलेपछि सुरुवाति चरणमा बजार बढेर २५८५ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर ५३ अंकसम्म घटेर २५२५ अंकमा आएर रोकिएको छ ।
मंगलबार विकास बैंक र वित्त बाहेक सबै परिसूचकमा गिरावट आएको छ । जीबन बिमा, लघुवित्त र निर्जीवन बिमा परिसूचक घटेका छन् । मंगलबार जीवन बिमा २७४, लघुवित्त १२८ र निर्जीवन २३७ अंकले गिरावट आएको नेप्सेले जनाएको छ ।
ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । ग्रामीण लघुवित्तको प्रतिकित्ता ११२० मा २८ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै प्रभु बैंकको ४७२ मा २४ करोड ५२ लाख र ग्लोबल आइएमई बैंकको ४१७ मा १९ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सेयर बजार घटे पनि ४ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ । गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स र लुम्बिनी विकास बैंकको संस्थापक सेयरको मूल्य ९ प्रतिशतमाथि बढेको छ ।