काठमाडौं । लगानीकर्ताहरुको उच्च मनोबलले यो साता नयाँ उचाइ लिएको सेयर बजारमा आफ्नो नाफा बुक गर्न खोज्दा, मौद्रिक नीति अर्धवार्षिक समीक्षा हुने बाहना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीमा समस्या हुँदा बजार अन्तिम दिन ओरालो लागेको छ ।
मंगलबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या हुँदा परिसूचकमा गिरावट आएको थियो । साताको सुरुका दुईदिन सेयर सूचक र कारोबार रकममा उछाल आएको थियो । आइतबार बजार ४९ अंक बढ्दा १० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।
सोमबार ३७ अंकले सूचक बढेर हालसम्म कै उच्च विन्दु २५६१.४८ अंक कायम हुँदा १० अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यो रकमका आधारमा हालसम्म कै उच्च हो । नेप्से र कारोबार रकमको उच्चतासँगै सेयरधनीहरुले नाफा बुकलाई प्रसय दिइरहेका छन् ।
चालू वर्षको मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा लगानीकर्ताहरु बजारमा अब के होला भन्ने आशंकामा छन् । उता प्रणालीमा पनि बेला-बेलामा आउने समस्याले सेयर काराेबारलाई प्रभावित बनाएको छ ।
साताको सुरुमा बैंकिङ बाहेकका समूहले उच्चता कायम गरेको थियो भने साताका पछिल्ला दिनमा अन्य समूह ओरालो लागेर बैंकिङ समूहले उचाइ दिने प्रयास गरे पनि नेप्सेमा त्यसको प्रभाव पर्न सकेन ।
बिहीबार पनि बैंकिङ समूह र विकास बैंक समूह उकालो लागे पनि अन्य समूह झरेपछि बजार १६.११ अंकले घटेर नेप्से परिसूचक २५२६.९२ अंकमा सीमित भएको छ ।
यस्तै कारोबार रकम पनि खुम्चिएर ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यद्यपी यो रकम बुधबारको भन्दा बढी हो । नेप्से परिसूचकको प्यार्टन हेर्दा आगामी आइतबार सुरुवाती चरणमा उचाइ लिने र त्यही रफ्तारमा सेयर कारोबार हुने संभावना छ ।
बिहीबार बैंक र विकास बैंक उपसूचक क्रमशः १०.७९ र २०.१४ अंकले बढ्दा व्यापार, जलविद्युत, उत्पादनमूलक, जीवन तथा निर्जीवन, लघुवित्त र म्युचअल फण्डको सेयर मूल्यमा गिरावट आएको छ ।
बिहीबार लगानीकर्ता डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा झुम्मिएका छन । डिप्रोक्सको प्रतिकित्ता १९७३ मा ५६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै नबिल बैंकको १२१३ मा ३८ करोड ४० लाख र कुमारी बैंकको ३१७ मा ३२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ५ प्रतिशत बढेर प्रतिकित्ता १८८ रुपैयाँ पुगेको छ ।