काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन र लगातार दोस्रो दिन ओरालो लागेको छ । गत बिहीबार १६ अंकले घटेको नेप्से सूचक आइतबार भने दोब्बरभन्दा बढीले ओरालो लागेको छ ।
लगानीकर्ताहरुले नाफा बुकको सिलसिलालाई कायम राखेको, मौद्रिक नीतिमा सेयर बजार प्रभावित हुने गरी मध्यावधिक समीक्षाको हल्ला चलेको, डिप्रोक्स र सपोर्ट माइक्रोफाइनान्स जस्ता लघुवित्त कम्पनीको लाभांश घट्दा त्यसको समग्र असर लघुवित्तमा परेको, गत साता तीन दिन बढेको बैंकिङ समूहमा सेयर बिक्रीको चाप देखिएकोजस्ता कारणले आइतबार सबै समूह र अधिक कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ ।
लगानीकर्ताहरुले यसबीचमा माइक्रोफाइनान्सको सेयर मूल्यमा ब्यापक चलखेल गरेका छन् । लघुवित्त संस्थाहरुको पुँजी संरचनामै हेरफेर हुने हल्ला चलाएर कारोबार प्रभावित बनाउन पनि खोजिएको छ ।
अर्कोतिर तीन वर्षअघि सेयर बजार सुधारका लागि गर्ने भनिएका कतिपय काम अहिलेसम्म पूरा नभएको भन्दै लगानीकर्ताको एउटा समूह आमरण अनसनमा आइतबारदेखि छ ।
विगतमा बजार घटेका बेला बजार बढाउन दबाब दिन आन्दोलन र अनसनजस्ता घटनामा लगानीकर्ता संलग्न हुने गरेको आरोप लागेपछि यस पटक भने विगतको आरोप पखाल्न पनि बजार उच्च विन्दूमा पुगेका बेला थप सुधारको माग राख्दै अनसनमा बसेका छन् । यो अनसनलाई कारण देखाएर पनि बजार घटाउन भूमिका खेलेको पाइन्छ । यसले बजारलाई थप दबाबमा राखेको छ ।
कारोबार खुल्दा साढे ९ अंकले बढेको २५३८ मा पुगेको बजार आधा घण्टा भित्रै ह्वात्तै घटेर २५०४ मा खुम्चियो । बजारले फेरी उचाई लिने कोसिस गरेर २५२३ अंकसम्म चढे पनि त्यसपछि भने निरन्तर घटेर २४८२ अंकसम्म पुग्यो । त्यतिबेला कारोबारको साढे २ घण्टा वितिसकेको थियो । त्यसपछि भने बजारले उचाइको लाइन समाते पनि टिकाउ भने भएन र बजार घटेर २४८८ अंकसम्म झर्यो । यद्यपि, अन्तिम समयमा भने नेप्से सूचक केही उचालिएर २४९३.५९ अंकमा रोकियो । दिनभर कारोबारको ४ घण्टामा बजार घट्ने र बढ्ने प्रतिस्पर्धा ५५ अंकमै सीतिम रह्यो ।
बजार घटे पनि आइतबार नेप्सेमा सूचीकृत भएको हालसम्मकै ठूलो प्राथमिक निश्कासन मानिएको नेपाल इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक (निफ्रा)को भने १० प्रतिशतले वृद्धि कायम राख्यो । प्रतिकित्ता ३४० रुपैयाँमा खुलेको निफ्राको सेयरलाई भने नेप्सेले ११३.६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसाका लागि ओपनिङ रेञ्ज दिएको थियो । निफ्राले विगतमा चन्द्रागिरि हिल्स, प्रभु लाइफ इन्स्योरेन्स लगायतले अत्यन्तै न्यून मूल्यमा कारोबार खुलेको परिस्थितिमा निफ्राको भने उच्च विन्दूबाट कारोबार सुरु भएको छ । निफ्रालाई अहिले लगानीकर्ताले विशेष प्रकारको कम्पनी भन्दै नेपाल रि–इन्स्योरेन्स कम्पनीसँग दाज्ने गरेका छन् ।
आइतबार कारोबार रकम भने ह्वात्तै घटेको छ । आइतबार ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गतसाता सेयर खरिद बिक्रीमा सूचक र कारोबार रकमले उचाई लिएको थियो । तर, सोमबार हालसम्मकै उच्च १० अर्ब ६१ करोडको कारोबार भएको थियो भने औसतमा साताभर ८ अर्ब भन्दा माथि कारोबार भएको थियो ।
आइतबार बजार घट्दा घट्ने १० कम्पनीमध्ये ६ वटा लघुवित्त कम्पनी छन् । त्यसमध्ये सर्पोट, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशतभन्दा बढी घटेको छ । तर, म्युचुअल फन्ड समूह सूचक शून्य दशमलव १३ अंकले बढ्दा अन्य सबै समूह सूचक घटेका छन् । सबैभन्दा बढी जीवन बिमा सूचक २३३ अंकले घटेको छ भने पूँजीकरणका आधारमा सबैभन्दा सेयर हिस्सा ओगट्ने बैंकिङ समूह करिब २१ अंकले घटेको छ ।