काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये ३ लाख २५ हजार १६५ जनाले कम्पनीको शेयर हात पारेका छन् ।
विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १६५ जनालाई बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर २ जनाले एक/एक कित्ताका दरले बाँडफाँट गरिएको हो ।
यस कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९७१ जनाको २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । जुन मागभन्दा करिब ७ गुणा बढी थियो । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
कम्पनीले आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुगेको छ ।
कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।