काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ६६ प्रतिशतले बढेको छ । बजार खुल्दा ह्वात्तै बढेकोमा त्यसपछि एक चरण ह्वात्तै घटेर २६ सय १९ अंकसम्म्म झरेको बजार त्यसपछि फेरि बढ्ने संकेत गर्दै १२ बजे २६४८ अंकमा पुगेको थियो । तर, यो वृद्धिले निरन्तरता पाउन सकेन ।
बिस्तारै बढ्न कोसिस गरे पनि बजार सूचकले अन्तिम समयमा स्थिर अवस्थामा बन्द भयो । आइतबारको कारोबार सूचक ‘ट्रेन्ड’ र कारोबार रकमका कारण सोमबार अन्तिम समयतिर बजारले गति लिने अनुमान गर्न सकिन्छ ।
आइतबार माथिल्लो तामाकोसी र शिवश्री जलविद्युत कम्पनीले १० प्रतिशत मूल्य बढाएको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) काे पनि करिब १० प्रतिशतसहित ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यसले समग्र सूचकमा सुधार ल्याउने कोसिस गरे पनि बैंकिङ समूह, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त र वित्त समूहको सेयर मूल्य घटेर समूह परिसूचक ओरालो लाग्दा नेप्से माथि उठन गाह्रो भएको हो ।
यद्यपी, अन्य समूह जलविद्युत र विकास बैंक, समूहले सेयर सूचकलाई थेग्ने कोसिस गरेको देखिन्छ । आइतबार सेयर मूल्य घट्ने कम्पनीहरुको पनि साढे ३ प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी सेयर मूय घटेको बेस्ट फाइनान्स कम्पनीको ३ दशमलव ३७ प्रतिशत छ । आइतबार ८ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा नेपाल बैंकको मात्रै ६१ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने निफ्राको ५३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
गत साता मध्यदेखि नाफा बुक गर्न तम्सिएका लगानीकर्ताहरुको चाप आइतबारसम्म आइपुग्दा बिस्तारै घटेको महसुस हुन्छ । यसले सोमबार बजारले थप उचाई प्राप्त गर्ने संकेत गर्छ ।