काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ३२.६७ अंकले घटेको छ । बजार घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०७ मा झरेको छ । सोमबार बजार खुल्नासाथ उकालो लागेको बजारपछि घट्न थालेको थियो ।
बजार खुल्दा नेप्से परिसूचक २६७३ अंकमा पुगेर ओरालो लागेको थियो । बजार बन्द हुँदा ६६ अंकले गिरावट आई परिसूचक २६०० अंक नजिक आइपुगेको छ ।
जलविद्युत र अन्य समूह बाहेक सबैको उपसूचकमा गिरावट आएको छ । जलविद्युत उपसूचक ४५.८५ र अन्य २७.८६ अंकले बढेको नेप्सेले जनाएको छ । सोमबार बैंक, विकास बैंक, होटल, लघुवित्त, जीवन तथा निर्जीवन बिमा, उत्पादनमूलक म्युचुअल फण्ड उपसूचकमा गिरावट आएको छ ।
नेपाल इन्फास्ट्रक्चर बैंक र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्फास्ट्रक्चरको सेयर मूल्यमा सर्किट लाग्दै आएको छ ।
यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, शिवश्री हाइड्रोपावर र खानीखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
सोमबार ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार घट्दा पनि एनआईसी एसिया बैंकको बढी सेयर कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ९१८ मा ३८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै नेपाल इन्फास्ट्रक्चरको ६६० मा ३२ करोड १२ लाख र निर्धन उत्थान लघुवित्तको १६२७ मा ३० करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।