काठमाडौं । दुई दिनको लगातार गिरावटपछि साताको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक सुधार देखिएको छ । गत साताको सुरुदेखि नै घट्ने ट्रेनमा देखिएको बजार सूचकले सोमबार विश्राम लिएको संकेत गरेको छ ।
गत साता आइतबार ३ अंकले सेयर सूचक बढ्दा हालसम्मकै उच्च २६४० अंकमा पुगेको थियो । तर, त्यसपछि २ दिन लगातार बजार घट्यो । गत साता बुधबार नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा गडबढीले दिनभर जसो नै समस्या सिर्जना भएको थियो ।
नेप्सेले निफ्राको सेयर मूल्य सच्चाएसँगै सेयर सूचक १३ अंकले बढेको थियो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनासमेत गरेको थियो । बुधबार बजार सामान्य बढे पनि बिहीबार र आइतबार भने उच्च अंकको गिरावट आयो । २ दिनमा मात्रै करिब १२४ अंकले बजार घटेको थियो । तर, सोमबार भने बिहानैदेखि बजार बढ्ने चरणमा प्रवेश गरेको नेप्से सूचकको ट्रेनलाइनले देखाउँछ ।
आइतबार २४७४ अंकमा रहेको बजार सूचक सोमबार सुरुमै २४८८ अंकसम्म पुगेको थियो । तर, त्यसपछि बजार घटेर २४४२ अंकसम्म झर्यो । फेरि एक्कासि सूचक बढेर कारोबारको ४० अंक नपुग्दै सोमबारको अंक २५२२ अंकसम्म पुग्यो । त्यसपछि बजारले फेरि घट्ने संकेत गर्यो र २४७५ सम्म झर्यो । त्यतिबेलासम्म कारोबार समयले १ घण्टा बिताइसकेको थियो ।
त्यसपछि भने बजार विस्तारै उकालो चढ्ने र सामान्य घट्ने प्रक्रियामा सामेल भयो । र, कारोबार बन्द हुनु केही अघि २५२४ चढे पनि कारोबार बन्द हुँदा भने २५१५ अंकमा झरेर कारोबार रोकियो । नेप्से सूचकमा सोमबार ४० अंकले बढे पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । आइतबार ८ अर्ब ३५ करोड रुपैयाँ कारोबार भएकोमा सोमबार भने ५ अर्ब ६९ करोडमा खुम्चिएको छ ।
यसले बिक्रीकर्ता र खरिदकर्ताको आपसी द्वन्द्व चर्को रुपमा देखाएको छ । कारोबार रकम घट्नुले लगानीकर्ताले सेयर बिक्रीमा चासो नदेखाएको प्रष्ट हुन्छ । सोमबारको अधिकांश कम्पनीहरुको माग बढी र आपूर्ति कम थियो । जसले गर्दा सेयर मूल्य बढाउनेसँगै सेयर कारोबार रकमलाई समेत घटाउन मद्दत गरेको छ ।
खासगरी राजनीतिक अन्यौलतालाई चिर्दै सरकारले फागुन २३ मा संघीय संसदको बैठक बोलाएको छ । त्यसमा सरकार परिवर्तन हुने वा नहुनेबारे प्रक्रियाहरु सुरु हुने छन् । यही सरकारले निरन्तरता पाउने वा अर्को सरकार बन्ने भन्ने कुराले सेयर बजार प्रभावित हुने संभावना छ । ब्याजदर बढ्छ भन्ने हल्ला पनि केही मत्थर देखिएको छ ।
खासगरी निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको समय र सीमाभित्र ल्याउन नेपाल राष्ट्र बैंकले पहल गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिलाई जवाफदेही बनाउने गरी स्प्रेडदर तोकिएको सीमामा राख्न निर्देशन दिएपछि ब्याजदर अझै घट्ने आंकलन गर्न थालिएको छ । यसको असर सोमबारको सेयर बजारमा परेको छ ।
यो मौसम खासगरी पुँजीगत लाभ लिएर कारोबार गर्ने समय यस्तो बेला लगानीकर्ताले ससाना विषयमा पनि ठूलो बनाएर व्याख्या गर्ने र त्यसैको आडमा आफ्नो लगानी उठाउने रणनीति लिएका हुन् । सोमबारको सूचक ट्रेन र कारोबार रकममा देखिएको गिरावट, खरिदकर्ताको चाप र बिक्रीकर्तामा देखिएको आलस्यले मंगलबारको कारोबारलाई थप दवावमा राख्ने देखिन्छ । मंगलबार केही समय बजारले गति समाउने र सोहीअनुसार कारोबार अघि बढ्ने संकेत गरेको छ ।
सोमबार सबैभन्दा बढी निफ्राको सेयर किनबेच भएको छ । निफ्राको प्रतिकित्ता ५२९ मा ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २८३० मा ३० करोड र ग्लोबल आईएमई बैंकको ४४८ मा २३ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसैगरी चन्द्रागिरी हिल्स लिमिटेडको ९.९ प्रतिशतले बढेर ४५५ र कर्पोरेट डेभलपमेन्ट बैंकको ८ प्रतिशत माथि बढेको छ ।