काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विशाल बजार कम्पनी लिमिटेडले ३ वटा आर्थिक वर्षकोे वित्तीय विवरण सार्वजनिक गर्न लागेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३/०७४, ०७४/०७५ र ०७५/०७६ को वित्तीय विवरणहरु एक साथ प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेको हो । प्रत्येक ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कम्पनी ऐनको पालना विशाल बजारले गरेको छैन ।
कम्पनीका सिनियर इन्जिनियर विष्णुबाबु केसीले प्रशासनीक कमजोरीका कारण वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको स्वीकार गर्दै तयारीको अन्तिम अवस्थामा पुगेको जानकारी गराएका छन् ।
कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत दिलिपजंग शाहको कार्यकालमा सार्वजनिक नभएको वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेको उनले सुनाए ।
चालू आर्थिक वर्ष सुरु भएसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत शाहको चार वर्षे कार्यकाल सकिएको थियो । विशाल बजारको प्रशासनिक कामहरुको जिम्मेवारी अहिले सिनियर इन्जिनियर केसीले सम्हाल्दै आएका छन् ।
‘अहिले हामी वित्तीय विवरण बनाउने तयारीमा छौं, यही फागुन महिना भित्रै हामीले ३ वटा आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छौं’ उनले भने ।
यसरी वित्तीय विवरण सार्वजनिक गर्नबाट रोकिनु भनेको कम्पनीको व्यवस्थापकीय क्षमताबाट चुकेको उनले बताए । विशाल बजारमा हाल राम्रो नेतृत्वको खाँचो रहेको उनको भनाइ छ ।
कम्पनीले आफ्ना वित्तीय विवरणहरु त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने कम्पनी ऐन २०६३ मा उल्लेख छ । तर, विशाल बजारले ऐनविपरीत वित्तीय विवरण प्रकाशित गरेको छैन । हाल कम्पनीमा वित्तीय विवरण तयार गर्न कर्मचारीको नियुत्ति गरेको छ ।