काठमाडौं । साताको तेस्रो दिन सेयर बजार घटेको छ । मंगलबार बजार २३.२२ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४६१.८८ अंकमा झरेको छ ।
बजार घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यो आइतबारको भन्दा कम कारोबार रकम हो ।
आइतबार ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । पछिल्लो समयम कारोबार रकम निरन्तर ओरालो लाग्दै आएको छ । कारोबार घट्नुले बजारका लागि राम्रो संकेत होइन । कारोबार घट्दा बजारलाई दवाव सिर्जना गरेको छ ।
मंगलबार होटल एन्ड टुरिजम, जलविद्युत र म्युचअल फण्ड उपसूचक बढेका छन । बैंक तथा वित्त, विकास बैंक, जीवन तथा निर्जिवन बिमा, उत्पादनमूलक उपसूचकमा गिरावट आएको नेप्सेले जनाएको छ ।
चन्द्रागिरी हिल्सले होटल एन्ड टुरिजम उपसूचकलाई बढाएको छ भने हिमालयन ऊर्जा विकास कम्पनी, रैराङ हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सले जलविद्युत उपसूचकलाई बढाएको छ ।
यस्तै हिमालयन ऊर्जा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटेड फाइनान्सको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ । पञ्चकन्या हाइड्रोपावर र अरुण भ्याली हाइड्रोको सेयर मूल्य ७ प्रतिशत माथि बढेको नेप्सेले जनाएको छ ।
मंगलबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । शिखरको प्रतिकित्ता २६२२ मा ६५ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै अपर तामाकोसी हाइड्रोपावरको ५९५ मा २९ करोड ६७ लाख र अरुण भ्यालीको ३७० मा २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएपछि अरुण भ्यालीको कारोबार र सेयर मूल्य दुबै बढेको छ ।