काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) तेस्रो दिन पनि बढेको छ । लगातार घट्दै आएको बजार मंगलबारदेखि भने बढ्न थालेको छ । मंगलबार दुई अंकले बढेको बजार बुधबार ४० अंकले बढेको थियो । बिहीबार पनि ४२.९५ अंकले बढेर २४७५.०९मा कारोबार रोकिएको छ ।
बिहीबार कारोबार खुलेसँगै बढ्न सुरु गरेको बजार सुरुवाती समय घट्ने संकेत गरेको थियो । आधा घन्टा नपुग्दै २४४१ अंकमा झरेको सूचक त्यसपछि भने उकालो चढ्यो । र, २४७६ सम्म पुग्यो ।
त्यसपछि पनि बजार घटबढ हुने क्रम रहे पनि त्यो सामान्य प्रकृतिको थियो । यद्यपी, कारोबार बन्द हुँदा मध्याह्नको उच्च अंकभन्दा तल छ । बिहीबार नेप्से बढेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । बुधबार ३ अर्ब ३७ करोडमा सीमित भएको कारोबार रकम बिहीबार भने ४ अर्ब ६४ करोड पुगेको छ । यसले लगानीकर्तामा केही उत्साह थपेको छ ।
बिहीबार ग्रीन लाइफ र युनाइटेड मोदीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ भने चन्द्रागिरी र नेपाल बंगलादेश बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बढेको बजारमा पनि केही कम्पनीहरुले भने गुमाएका छन । यद्यपी, गुमाउने हिस्सा कम छ । सबैभन्दा बढी गुमाएको जोशी हाइड्रोपावरको ६.८५ प्रतिशत छ भने आँखुखोला जलविद्युत् कम्पनीको ६.३३ प्रतिशत छ । बिहीबार सवैभन्दा बढी जीवन बीमा परिसूचकको ४१५ अकं बढेको छ भने त्यसलाई पछ्याएको निर्जीवन बीमासूचक १९१, उत्पादनमूलक तथा प्रशोधन सूचक १६२ अकंले बढेको छ ।
बिहीबार व्यापार समूह सूचक बाहेक अन्य सबै सूचक बढेको छ । यस दिन सबैभन्दा बढी कारोबार भएको नेपाल बंगलादेश बंंैकको ७६ करोड ७६लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने त्यसलाई पछ्याएको नेपाल इन्फ्रास्चर बैंकको २१ करोड ६२ लाखको सेयर किनबेच भएको छ ।