काठमाडौं । निरन्तर सेयर बजार ओरालो लागेर निराश बनेका लगानीकर्ताहरु पछिल्ला तीनदिन भने उत्साहित भएका छन् । उच्च अंक २६४० लाई छाडेर तल झरेको बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता सोमबार २३८९ अंकसम्म झरेर फेरि उकालो लाग्न थालेपछि लगानीकर्तामा उत्साह पलाएको हो ।
मंगलबार सामान्य साढे २ अंकको वृद्धि देखिएको बजारमा बुधबार र बिहीबार भने ४० अंकको सुधार भएको थियो । आइतबार वृद्धिलाई नै निरन्तरता दिँदै ६३.३८ अंकको टेको थेगेपछि लगानीकर्ताहरुले बजार परिपक्क (म्याचुअर्ड) भएको अर्थमा बुझेका छन् ।
यो वृद्धिसँगै बजार सूचकले पुरानो उच्च अंकलाई उछिनेर अघि बढ्ने आँकलन लगानीकर्ताको छ । पछिल्ला ४ दिनमा करिब १५० अंकको वृद्धि देखिएसँगै सूचक २५३८.४६ मा पुगेको छ । पुरानो अंक पछ्याउन मात्रै १०२ अंक बाँकी छ ।
यो पनि हेर्नुहोस
एकैदिन ९०.६७ अंकको ‘बाउन्सव्याक’, २८०० अंक माथि पुग्ने हौवा !
खासगरी, ब्याजदरमा देखिएको स्थिरता सँगै तरलता असहज हुन्छ भन्ने अनुमानविपरीत सहज अवस्थामा रहेको, (ब्याज बढ्छ भन्ने हौवा निस्तेज भएपछि), राजनीतिक तरलता केही स्थिर भएको, लगानीका अन्य क्षेत्रहरु अझै खुलिनसकेको र सूचीकृत कम्पनीका तेस्रो त्रैमासका वित्तीय विवरण अझ सुधारिएर आउने प्रारम्भिक प्रक्षेपणपछि बजारले गति समातेको हो ।
अबको बजार धेरै उचाइ नलिए पनि परिसूचकका आधारमा २८०० भन्दा माथि जाने आँकलन गरिएको छ । यदाकदा, राजनीतिक सहमतिमा वर्तमान संसद अन्त्य गरेर नयाँ निर्वाचनको माहोल बनाउने विषयमा छलफल भएको चर्चाहरु सुरु भएकाले पनि बजार उकालो लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन नहुँदा पनि निर्वाचन अवधिसम्म पनि यही सरकार वा अर्को बन्ने सरकारले निरन्तरता पाउने सम्भावना भएकाले स्थिरताको पक्षमा सेयर बजारले साथ दिएको छ । यद्यपि, नेपालको सेयर बजार अस्थिरताकैबीच रजगज चलाउने गर्छ ।
सेयर सूचकसँगै कारोबार रकममा पनि सुधार देखिन थालेको छ । नेप्से उच्च अंकमा हुँदा करिब ११ अर्ब रुपैयाँ हाराहारी कारोबार भएकोमा घटेर २४०० तल सूचक आउँदा ४ अर्ब रुपैयाँमै खुम्चिएको थियो । तर, सूचक बढेसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ ।
यसले बढ्दो बजारको आकाँक्षालाई परिपूर्ति गर्न खोजेको देखिन्छ । गत बुधबार ३ अर्ब ३७ करोडमा खुम्चिएको बजार ४ अर्ब ६४ करोडको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसले बढ्दो बजारलाई टेको लगाएको छ ।
गत बिहीबार २४७५ अंकमा रोकिएको नेप्से सूचक आइतबार कारोबार सुरु हुने बित्तिकै २४९४ बाट चढेर २५११ सम्म पहिलो आधा घण्टाभित्रै पुगेको थियो । त्यसपछि सामान्य करेक्सनको बाटो समाउँदै २४९३ सम्म झरेको सूचक त्यसपछि भने पछाडि फर्किएन र निरन्तर उकालो लाग्दै २५३८.४६ अंकमा कारोबार रोकियो ।
आइतबार सेयर बजार बढ्नमा सबै समूह सूचकहरुको हात छ । सबैभन्दा बढी जीवन बिमा सूचक ७४२ अंकले बढेको छ । तर, अधिकांश लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उछालिएको छ । १० वटा कम्पनी जसको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेकामध्ये ८ वटा लघुवित्त छन् ।
युनाइटेड इदी मर्दी हाइड्रो पावर र चन्द्रागिरि हिल्सको पनि ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ । उच्च अंकले सेयर सूचक बढ्दा पनि धेरै जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ । यद्यपि, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा ग्रीनलाइफ हाइड्रोको ६ प्रतिशतले घटेर ३७२ मा रोकिएको छ । आइतबार नै सुरुवाती समयमा यो कम्पनीको सेयर मूल्य ४३५ सम्म पुगेको थियो ।
आइतबार सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गतसाता नबिल बैंकसँग मर्जको हल्ला चलाएर बढाइएको सेयर मूल्यले खासै निरन्तरता पाएन । गत बिहीबार ९ प्रतिशतभन्दा बढीले बढेर ३४९ रुपैयाँमा कारोबार रोकिएको थियो ।