विराटनगर । कोरोना भाइरसका कारण थला परेका सुनसरी–मोरङ औद्यागिक करिडोका उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन थालेका छन् ।
कोभिडका कारण भारी मात्रामा उत्पादन कटौती गरेका ती उद्योगहरूले बजारमा माग बढेसँगै अधिकतम उत्पादन गर्न थालेका हुन् ।
कोभिड महामारी र नेपालको राजनीतिक अस्थिरताको कारणले प्रभावित बनेको सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरू पुरानै अवस्थामा फर्कन थालेका छन् ।
अहिले सुनसरी–मोरङ करिडोरका शतप्रतिशत उद्योग सञ्चालनमा छन् । उद्योगहरूले बजारको मागअनुसार उत्पादन गरिरहेको उद्योगीहरूले बताएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोका उद्योगहरूले अहिले ८० देखि ९० प्रतिशतसम्म उत्पादन गरिरहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले बताए ।
उद्योगको उत्पादन पूर्णरूपमा पुरानै अवस्थामा आई नपुगे पनि आउने तरखरमा रहेको अध्यक्ष घिमिरेले बताए । ‘सबै उद्योगहरू सञ्चालन भएका छन् । बैंकको ब्याज र बिजुलीलगायतको समस्या धेरै मात्रामा समाधान भइसकेकाले अहिलेको अवस्थालाई नराम्रो भन्न सकिँदैन,’ उनले भने, ‘अहिले पनि समस्या छ भन्नु राम्रो हुँदैन । कोभिड पनि नियन्त्रणमा आउँदै छ । भन्सारलगायत सबैतिर सुधार हुँदै गएको छ ।’
कोभिड–१९ विरुद्धको खोप सुरु भएसँगै त्यसको डर सर्वसाधारणमा हराउँदै गएको छ । बजार पुरानै अवस्थामा चहलपहल हुन थालेको छ । बजारमा खपत बढेसँगै उद्योगहरूले उत्पादन पनि बढाउँदै लगेका छन् ।
खाद्यान्न, औषधि, लत्ताकपडालगायतका उद्योगहरू सुरुदेखि नै सञ्चालनमा रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । करिडोरका उद्योगहरूले पुरानै अवस्थामा फर्कने क्रम सुरु भइसकेको उनले बताए । पर्यटन र मनोरञ्जन बाहेका क्षेत्रहरू त सबै पूर्ववत् अवस्थामा फर्किसकेको उनले जानकारी दिए । भारतीय पर्यटक नेपालका लागि महत्वपूर्ण भएकाले त्यसतर्फ पनि सरकारले विचार गर्नुपर्ने उनले बताए ।
सुनसरी मोरङ करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कट पाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआईपाइप, चामललगायतका उद्योग छन् । यहाँका उद्योगमा ४५ हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।
सुनसरी–मोरङ करिडोरका उद्योगमा कार्यरत कामदार तथा मजदुरमध्ये पाँच प्रतिशत भारतीय छन् । उद्योगमा प्राविधिक र लेखा प्रणाली हेर्ने भारतीय दक्ष कामदार हुने गरेका छन् ।
यस औद्योगिक करिडोरमा ६ सय ५० हाराहारी साना ठूला उद्योग सञ्चालनमा छन् । करिडोरमा निर्यातमुखी ठूला उद्योगको संख्या ६० को हाराहारीमा छन् । यस करिडोका उद्योगहरूमा करिब ५ अर्ब रुपैयाँ लगानी रहेको छ ।