काठमाडौं । सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातको परिमाणात्मक बन्देजलाई कायमै राखेको छ । गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले ती वस्तुको आयातमा लगाएको बन्देजलाई केही खुकुलो बनाए पनि अहिलेसम्म पूर्णरुपमा खुलाएको छैन ।
तर, केराउ, सुपारी, छोकडा र मरिचको आयात पूर्ण रुपमा खोलिएको भन्ने सूचना प्रवाह हुँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हैरानी खेप्नुपरेको छ । पूर्ण रुपमा ती वस्तुको आयात खुलाइएको भन्ने सूचनाका कारण पैठारीकर्ताबाट वस्तु आयात गर्न माग अत्यधिक आएका छन ।
सरकारले कोटा निर्धारण गरेरै ती वस्तुमा लगाएको पूर्ण प्रतिवन्धलाई खुकुलो बनाएको मात्रै थियो । तर, गलत सूचना प्रबाह विभागमा पैठारीकर्ताबाट अत्यधिक माग आएको विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन ।
‘कोटाभन्दा अधिकतम व्यवसायीले वस्तु आयातको माग गर्नुभयो । कमसेकम वास्तविक कारोबार खुल्ने कागजात नल्याएको र ल्याउने परिमाणमा मात्र पेश गरिएको छ’ उनले भने, ‘कहिल्यै पनि कारोबार नगरेकाले पनि निवेदन दिएका छन, कोटाभन्दा अत्यधिक आएर विभागलाई नै हैरानै भएको छ ।’
मन्त्रिपरिषद्को बैठकले परिमाणात्मक बन्देज स्वरुप केराऊ आयात ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार, मरिचमा १५ हजार मेट्रिक टन आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको थियो । तर, व्यवसायीमा पूर्ण रुपमा आयात खुला भएको भन्ने सूचना प्रबाह हुँदा पैठारीकर्ताका अधिक निवेदन र माग परिमाण पनि अत्यधिक आएको हो ।
केराउ, सुपारी, छोकडा र मरिचको आयात गर्दा वाणिज्य विभागबाट इजाजत लिनुपर्ने हुन्छ । विभागले सोमबार यससम्वन्धी सुचना प्रकाशित गरी पूर्ण प्रतिवन्ध केही सहज पारि पनि व्यवसायीबाट अत्यधिक निवेदन र माग आएको जनाएको छ ।
आइतबारसम्म विभागमा केराऊ आयात गर्न २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन, सुपारी ८५ निवेदनबाट २ लाख २७ हजार २७०, छोकडा १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र नधुल्याएको मरिचमा १६९ निवेदनबाट १ लाख ४० हजार ८२ मेट्रिक टन माग भएको जनाएको छ ।
रकारले कोभिड सुरु भएसँगै धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो ।
