काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीको कारण १.९ प्रतिशतले खुम्चिएको अर्थतन्त्र यो वर्ष केही सुधारआई सो आर्थिक वृद्धि हासिल हुने अनुमान बैंकले गरेको हो ।
बैंकले बुधबार ‘दक्षिण एसियाको आर्थिक फोकस’ प्रतिवेदन सार्वजनिक गर्दै कोरोना विरुद्धको खोपका कारण आर्थिक गतिविधि चलायमान हुन गई पुरानो अवस्थामा फर्किन थालेको निश्कर्ष निकालेको छ ।
विश्व बैंकले सन् २०२१/०२२ मा ३.९ र ०२२/०२३ मा ५.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ । यस्तै बैंकले दक्षिण एसियाको समग्र आर्थिक विस्तार ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
यस्तै सन् २०२२ मा ४.४ प्रतिशत हुने अनुमान विश्व बैंकको छ । कोरोनाका कारण यस क्षेत्रको आर्थिक विस्तार ऐतिहासिक तल्लो विन्दुमा पुगेकोमा पुनः लयमा फर्किन लागेको बैंकको अनुमान छ । कोरोना विरुद्धको खोपले सन् २०२२ मा यस क्षेत्रको विस्तार ऐतिहासिक हुने बैंकले भनेको छ ।
छिमेकी भारतको यो वर्ष आर्थिक वृद्धि १० प्रतिशत हुने अनुमान बैंकको छ । नेपाल र बंगलादेशको आर्थिक वृद्धिमा रेमिट्यान्सले सहयोग पुर्याउने बैंकले बताएकाे छ ।
दक्षिण एसियाका विश्व बैंकका उपाध्यक्ष हार्टविग शेफरले भने, ‘दक्षिण एसियामा आर्थिक सुधारको स्पष्ट संकेतहरू देख्न हामीलाई प्रोत्साहित गरिएको छ । तर, महामारीको नियन्त्रण अझै भएको छैन । रिकभरि दर पनि कमजोर छ ।’
दक्षिण एसियाली देशहरूले अझ बढी समावेशी र लचिलो भविष्यका लागि जग बसाल्न आफ्नो खोप कार्यक्रमहरू अगाडि बढाउन र अभावका स्रोतहरूमा बुद्धिमानीसाथ लगानी गर्नु आवश्यक भएको उनले सुझाएका छन् ।
सरकारले अनौपचारिक कामदारहरूको संरक्षण, क्षेत्रीय सहयोग वृद्धि र खाद्य मूल्यमा अचानक वृद्धि रोक्न प्रमुख चरणमा भन्सार प्रतिबन्ध हटाउन विश्वव्यापी सामाजिक बिमाको विकास गर्न सुझाव बैंकले दिएको छ ।
