काठमाडौं । कोरोना महामारीलाई चिर्दै अर्थतन्त्र अघि बढेसँगै उद्योगी/व्यवसायीको उधारो पनि बढ्न थालेको छ । कोरोनाकालमा उद्योगीले उधारोमा सामान नबेच्ने सहमति गरे पनि अहिले चर्को प्रतिस्पर्धा बढेसँगै उधारो सीमा बढ्न थालेको हो ।
कतिपय सामान नगदमै कारोबार भइरहे पनि धेरैजसो उत्पादन बढेकाले उधारो पनि बढ्दै गएको उद्योगीहरुले बताएका छन् । खासगरी, सिमेन्ट, डन्डी, चामल, कार्पेट, कपडा, जुत्ता, चप्पललगायतको व्यापार पुरानै लयमै फर्किएसँगै उधारो पनि बढ्न थालेको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले जानकारी दिए ।
‘उत्पादन बढ्न थाल्यो । त्यही अनुसार माग बढेको छैन् । गोदाममा सामान थन्क्याउनुभन्दा उधारोमै भए पनि सामान बेच्नुपर्ने बाध्यता छ,’ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘पुरानै उधारो उठाउन सकिएको छैन् । थप उधारो बढ्न थालेको छ ।’
उद्योगीले सरकारसँग बारम्बार उधारो उठाउने कानुन बनाउन माग गरे पनि अहिलेसम्म काम कारबाही अघि बढाएको छैन । भारतमा त्यहाँको सरकारले उधारो उठाउने संयन्त्र बनाइसकेको छ । त्यस्तै संरचना नेपाल सरकारले पनि बनाउनुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेटमार्फत नै यसको नीतिगत प्रबन्ध मिलाउनुपर्ने उद्योगीको सुझाव छ । राजनीतिक संक्रमणको निकाससँगै स्थिरता बहाली हुने र विकासका गतिविधि बढ्ने अपेक्षामा लगानी बढे पनि बजार खुम्चिँदा उधारोमा प्रतिस्पर्धा हुन थालेको छ ।
सीमित बजारमा तीव्र प्रतिस्पर्धा भएपछि उद्योगीलाई नगदले नभ्याएपछि उधारो दिने समयसीमामा समेत प्रतिस्पर्धा गर्न थालेका छन् । पछिल्लो समय उत्पादन पुरानै लयमा फर्किन थालेपछि उधारोमा सामान नबेच्ने पूर्व सहमति उद्योगी आफैले उल्लंघन गरेका छन् ।
जसरी पनि सामान बेच्नुपर्ने उद्योगीको बाध्यता छ । एउटाले उधारोमा सामान नदिए अर्को उद्योगीले दिइहाल्छ, । यसले अर्थतन्त्रमा पर्ने दीर्घकालीन जोखिम व्यवस्थापनका लागि कानूनको आवश्यकता औंल्याइएको हो । उधारो असुलीको कानूनी प्रावधान नहुँदा उत्पादन चक्र नै महंगो भएको र यसले अर्थतन्त्रमा नकारात्मक असर पुर्याइरहेका मोरको भनाइ छ ।
आर्थिक गतिविधिले तीब्रता पाउने अपेक्षामा पछिल्ला वर्षहरूमा निर्माण सामग्री र खाद्यान्न उत्पादनका क्षेत्रमा लगानी बढेको छ । अधिकांश उद्योगले क्षमता विस्तार गरेका छन् । सिमेन्ट, डन्डी, चामल, दाल र तेल उद्योगमा नयाँ लगानी आएको छ ।
अहिले पनि नयाँ उद्योग आउने क्रम नरोकिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले बताए । ‘लगानीको तुलनामा बजार नबढेपछि उद्योगहरू अहिले नाफा कमाउने होइन, घाटा कम गर्ने उपायमा लागेका छन्,’ अग्रवालले भने ।
प्रतिस्पर्धा तीव्र भएपछि मूल्य घटाएर मात्रै पुगेको छैन । उद्योगीहरू उधारोको समय बढी दिएर बजारमा टिक्ने उपाय रच्न थालेका छन । सुरूमा मूल्यमा प्रतिस्पर्धा गरेका उद्योगी त्यसले पनि नभ्याएपछि उधारोको अवधि बढाउन लागेका छन् ।
‘एक समय खर्च धान्नकै लागि लागतभन्दा कम मूल्यमा बिक्री गरियो । मूल्य घटाएरमात्र नपुगेपछि जसले बढी उधारो दिन सक्छ, बिक्रेताले उसैको उत्पादन बेचिरहेका छन् ।’ शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानले भने ।
असोजमा उद्योगी व्यवसायीले उधारोमा सामान नबेच्ने सहमति गरेका थिए । यदि उधारो दिनुपरेमा चेक लिएर मात्रै सामान बेच्नुपर्ने सहमति गरेका थिए । तर, त्यसलाई केही व्यवसायी आफैले उल्लंघन गरेको पाइएको हो ।
उद्योगीहरू १ महिनाभन्दा बढी उधारो कारोबार गर्न नपाउने गरी कानुन बनाउनुपर्ने गोल्यानको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यसबारेमा ठोस व्यवस्था हुनुपर्ने उद्योगीको माग छ ।
लगानी बढी र माग न्यून भएपछि अस्वस्थ प्रतिस्पर्धाले बढावा पाएको परिसंघका अध्यक्ष मोरको भनाइ छ । एक महिनाभन्दा बढी उधारो किनबेच गर्न नपाइने कानुनी व्यवस्था हुने हो भने थप ५ महिनाका लागि पूँजी व्यवस्थापनको भार नपर्ने उद्योगीहरुको भनाइ छ । कति समयका लागि उधारो दिने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कानुनी मापदण्ड नहुँदा उधारोमा अराजकता बढेको छ ।