काठमाडौं । नेपालकै ठूलो सिमेन्ट उद्योग बनाउने रणनीतिसहित सम्राट सिमेन्टमा उद्योगपति विनोदकुमार चौधरीको प्रवेश भएको छ । चौधरीले सम्राटको ५० प्रतिशत सेयर किनेर आफ्नो उपस्थिति जनाउन लागेका हुन् ।
चौधरीले सम्राट सिमेन्टका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिनाको सम्पूर्ण सेयर स्वामित्व खरिद गरिसकेका छन् । त्यसबाहेक अन्य लगानीकर्ताको समेत सेयर किनेर आफ्नो स्वामित्व ५० प्रतिशत पुर्याउनका लागि प्रक्रिया अगाडि बढाइएको चौधरी ग्रुप स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।
चौधरी ग्रुपले सम्राटको ३० प्रतिशत सेयर किन्ने पक्कापक्की भइसकेको छ । तर, सम्राटका लगानीकर्ताहरु ५० प्रतिशत सेयर बेच्न इच्छुक छन् । सोहीअनुसार चौधरी ग्रुपले प्रक्रिया अघि बढाएको स्रोतले बतायो ।
तिमिल्सिनाबाहेक सम्राट सिमेन्टमा ५ जना लगानीकर्ता छन् । तीमध्ये धेरैको सेयर चौधरीले खरिद गर्न लागेका हुन् । अहिले सबै लगानीकर्ताबीच यस विषयमा छलफल चलिरहेको छ । ‘उनीहरुसँग अहिले नेगोसिएसन चलिरहेको छ,’ चौधरी ग्रुप स्रोतले भन्यो, ‘तर, चौधरीले कति मूल्यमा सेयर किन्न लागेका हुन् भन्ने टुङ्गो लागिसकेको छैन । तर, सम्राटमा चौधरी ग्रुप भित्रिने पक्का हो ।’
दाङको सतबरियामा स्थापना भएको सम्राट सिमेन्ट १६ अर्ब रुपैयाँ लगानी छ । २०७४ सालमा स्थापना भएको सिमेन्टले हाल दैनिक ४५ सय टन सिमेन्ट उत्पादन गरेको छ । सम्राट सिमेन्ट देशकै ठूलो सिमेन्ट उद्योगभित्र पर्छ ।
सम्राट सिमेन्टमा जर्मनी प्रविधिको प्रयोग गरिएको छ । उद्योगले अहिले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।
उद्योगबाट हाई स्पिट डिजिटल ल्याब टेस्ट भएको गजराज र सम्राट ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ । करिब ४५ बिघा क्षेत्रफलमा सञ्चालनमा रहेको उद्योगले ग्रीन फिल्ड साइट निर्माण, धुवाँ धुलो नियन्त्रणका लागि जर्मनी प्रविधिको ८ ब्याक फिल्टर जडान गरिएको छ । वातावरणमैत्री उद्योगका रुपमा स्थापित उद्योगले आफ्नो उत्पादन बजारमा पुर्याइरहेको छ ।
को हुन्, चौधरीलाई सेयर बेच्ने तिमिल्सिना ?
सम्राट सिमेन्टको मुख्य सञ्चालकहरु अध्यक्ष तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधीर तिमिल्सिना छन् ।
तिमिल्सिना व्यापारमा नयाँ अनुहार होइन । सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए । त्यस्तै, विभिन्न हाइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन् । उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ ।
के गर्दै छ सीजी सिमेन्टले ?
७ वर्षअघि डेढ अर्ब रुपैयाँ लगानीमा नवलपरासीको दुम्कीवासमा स्थापना भएको सीजी सिमेन्ट व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गरिरहेको छ ।
सीजी सिमेन्ट उद्योगमा क्लोज्ड सर्किट विथ सेन्ट्रलाइज्ड कन्ट्रोल रुम (सीआरआर) मोनिटरिङ प्रविधिमा जडान छ ।
अत्याधुनिक प्रविधियुक्त यो प्लान्ट धुलो र धुवाँरहित हो । त्यसका अलवा चौधरी ग्रुपले पाल्पामा खानीसहित पनि उद्योग स्थापना गरिरहेको छ । खानी सहितको उद्योग आगामी अक्टोबरमा सञ्चालनमा आउने गरी काम भइरहेको छ ।