काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेसँगै वर्षौंदेखि बन्द भएका अक्सिजन उद्योग चल्न थालेका मात्रै छैनन्, व्यापार समेत राम्रो गर्न थालेका छन् ।
अस्पतालहरू आफैंले अक्सिजन बनाउन थालेपछि थला परेका अक्सिजन उद्योग कोरोना संक्रमितको संख्या बढेसँगै धमाधम चल्न थालेका छन् । अक्सिजनको व्यापारमा नाटकीय सुधार आएपछि अन्य अक्सिजन उद्योगमा आफ्ना सिलिन्डर भरेरसमेत बिक्री गर्न थालिएको छ ।
‘अक्सिजन उद्योग निरन्तर चल्नुपर्छ । नत्रभने ठूलो नोक्सान हुन्छ । निरन्तर चलाउँदा बजारको सुनिश्चितता भएन । त्यही भएर उद्योग बन्द गरेका थियौं,’ एभरेष्ट अक्सिजनका सञ्चालक शिवप्रसाद घिमिरेले भने, ‘तर, अहिले अक्सिजको अत्यधिक माग बढेकाले शंकर अक्सिजन उद्योगमा लगेर आफ्ना सिलिन्डर भरेर बिक्री गरिरहेका छौं ।’
त्यसैगरी शंकर अक्सिजन उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गरेर पनि अन्य बन्द भएका उद्योगमा रहेका सिलिन्डरसमेत भरेर पठाइरहेको छ । यदि अक्सिजनको सिलिन्डर पर्याप्त हुने हो भने जति पनि अक्सिजन भर्न सक्ने क्षमता उद्योगसँग भएको उद्योगका अध्यक्ष शंकर अग्रवालले बताए ।
दोस्रो चरणको कोरोना तीब्र गतिमा फैलिएपछि अस्पतालहरूमा अक्सिजनको अभाव छ । उनीहरूसँग भएका अक्सिजन सिलिन्डरले पुगेको छैन । त्यही भएर अहिले नेपालमा रहेका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलेको उद्योगीहरू बताउँछन् ।
काठमाडौंमा उपत्यकामा मात्रै आठवटा अक्सिजन उत्पादक कम्पनी छन् । ती सबै उद्योग विगत एक महिनादेखि पूर्णक्षमतामा चलेका छन् । बालाजुको शंकर ग्यास उद्योगले अक्सिजन भरेर दैनिक १३ सय सिलिन्डर अस्पतालमा पठाइरहेको छ । त्यसबाहेक अन्य उद्योगलाई पनि भरेर दिइरहेको छ ।
शंकरबाहेक काठमाडौंमा अन्य ८ वटा साना–ठूला अक्सिजन ग्यास उत्पादक उद्योग छन् । यिनीहरूले पाँच सयदेखि हजार सय सिलिन्डरसम्म दैनिक उत्पादन गर्छन् । उद्योगलाई दिने अक्सिजनसमेत बन्द गरेर अहिले अस्पतालहरूलाई दिइएको छ । अक्सिजन उद्योगमा निरन्तर बिजुलीको आवश्यकता पर्छ । तर, विगत केही दिनयता विद्युत् आपूर्ति अनियमित हुँदा उत्पादनमा समस्या भएको अग्रवाल बताउँछन् ।
कान्तिपुर अक्सिजन उद्योगको दैनिक १ हजार हाराहारी सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता हो । अहिले उद्योग पूर्ण क्षमतामा चलेको छ । केही दिन अघिसम्म ७० प्रतिशत क्षमतामा चलेको उद्योग अहिले २४ सै घण्टा चलिरहेको छ ।
हिमाल अक्सिजनले दैनिक ५÷६ सय सिलिन्डर ग्यास उत्पादन गरिरहेको छ । साना सिलिन्डर मानिसहरूले घरमा राखेकाले सिलिन्डरको अभाव भएको उद्योगीहरूको भनाइ छ । काठमाडौंमा आईएमई अक्सिजन, सीता, हाम्रो, सोपान, अक्सिटेकलगायत उद्योग छन् ।
देशभर निजी क्षेत्रको २५ वटा अक्सिजन उद्योग छ । तीमध्ये ज्योति ग्रुपअन्तर्गत हिमाल अक्सिजनको मात्र तीनवटा उद्योग छ । जुन उद्योग निजी क्षेत्रकै सबैभन्दा ठूलो हो । काठमाडौं, वीरगन्ज र विराटनगरमा रहेको अक्सिजन उद्योगको क्षमता प्रतिघण्टा २ सय क्यूबिक मिटर छ अर्थात एक उद्योगको दैनिक ४ हजार ८ सय क्यूबिक मिटर छ । तीनवटै उद्योगको गर्दा १४ हजार ४ सय रहेको छ ।
देशभित्र रहेका उद्योगलाई सरकारले भन्सार छुटमा अक्सिजन सिलिन्डर ल्याउन अनुमति दिएको छ । यसले नेपालमा बढ्दै गएको अक्सिजको मागलाई पूर्ति गर्न थप सहयोग पुग्ने हिमाल अक्सिजनका प्रवन्ध निर्देशक अभिक ज्योतिले बताए ।