काठमाडौं । नेपालमा झण्डै दुई दर्जनभन्दा बढी अक्सिन प्लान्ट छन् । उनीहरुले औसतमा दैनिक ५ सय सिलिन्डर अक्सिजन भरेर बजारमा पठाइरहेका छन् । झन् यो बेला कोरोना महामारीले चरम रुप लिइरहेका बेला क्षमताभन्दा बढी अक्सिजन भरेर बजारमा आपूर्ति गरिरहेका छन् ।
महामारीका बेला कतिपय उद्योगले अक्सिजन सिलिन्डर अभावका कारण भनेअनुसार अक्सिजन भरेर बजारमा पठाउन सकेका छैनन् । यदि पर्याप्त मात्रामा सिलिन्डर हुन्थ्यो भने अक्सिजन भरेर पठाउनका लागि कुनै समस्या नभएको उद्योगीहरुले बताइरहेका छन् ।
उद्योगीले अक्सिजन प्लान्ट लगाए पनि अक्सिजन सिलिन्डरको प्लान्ट राख्न इच्छुक देखिएका छैनन् । कारण– अक्सिजन प्लान्ट राख्न जति सजिलो र सस्तो छ, त्यसको कैयौं गुणा अक्सिजन सिलिन्डर बनाउने उद्योग राख्न महँगो छ ।
‘भारतमा त जम्मा दुईवटा उद्योगले मात्रै सिलिन्डर बनाउने उद्योग राखेका छन्,’ शंकर अक्सिजनका सञ्चालक शंकर अग्रवालले भने, ‘एकातिर नेपालको सानो बजार र सिलिन्डर बनाउने उद्योग राख्न लाग्ने लागत अत्यधिक छ ।’
सिलिन्डर बनाउने कच्चा पदार्थ जापानबाट ल्याएर भारतीय दुई कम्पनीले सिलिन्डर बनाइरहेका छन् । त्यत्रो ठूलो बजारमा त उनीहरु टिक्न धौ धौ परिरहेको बेलामा नेपालमा फ्याक्ट्री राखेर डुब्नुबाहेक केही नहुने अग्रवालको भनाइ छ ।
अहिले कोरोनाको संक्रमण उच्च भएको र यो बेला अक्सिजनको माग बढी भएकाले सिलिन्डर अभाव बाहिर आएको हो । अत्यधिक महामारी बढेको र अस्पतालमा भएका अक्सिजनले नपुगेपछि अक्सिजनको खोजी हुन थालेको अग्रवाल बताउँछन् ।
हिमाल अक्सिजनका प्रबन्ध निर्देशक अभिक ज्योतिले अक्सिजन सिलिन्डर बनाउने उद्योग लगाउन लागत ठूलो पर्ने बताए । ‘एउटा सामान्य क्षमताको उद्योग लगाउन पनि ६ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्छ,’ ज्योतिले भने, ‘ठूलो खर्च गरेर प्लान्ट लगायो । बजार छैन् ।’
फेरि अक्सिजन सिलिन्डर उच्च गुणस्तरको हुन्छ । त्यो गुणस्तर मेनटेन गर्न नेपालका उद्योगीको क्षमता नभएको सम्बद्ध उद्योगीहरु बताउँछन् । अक्सिजन सिलिन्डर कतै पनि नजोडि बनाइएको हुन्छ ।