काठमाडौं । सरकारले खानीबाट चुनढुङ्गा निकाल्न नदिँदा आगामी आर्थिक वर्ष क्लिङकर आयात गर्नुपर्ने देखिएको छ । वर्षादी सुरु हुनुपूर्व उद्योगीले धमाधम चुनढुङ्गा निकालेर स्टक राख्ने र असोजसम्म सोही चुनढुङ्गाबाट क्लिङ्कर बनाउने गरेकोमा अहिले सरकारले खानी पूर्ण रुपमा बन्द गरेपछि आगामी आर्थिक वर्ष भारतबाट ल्याउनुपर्ने बाध्यता बनेको छ ।
अहिले चुनढुङ्गा निकालेर स्टोर गर्ने गरिन्छ । धमाधम चुनढुङ्गा निकाल्ने र ६ महिनासम्म त्यसैलाई पेलेर क्लिङ्कर बनाउने गरिन्छ । तर, अहिले स्थानीय सरकारले खानी सञ्चालन गर्न पूर्ण रोक लगाए पछि भारतबाट क्लिङ्कर आयात गर्न ठूलो धनराशी खर्च गर्नुपर्ने भएको हो ।
गत वर्षको निषेधाज्ञामा पनि सरकारले खानी सञ्चालन बन्द गरेको थियो । त्यही भएर चालू आर्थिक वर्षमा उद्योगीले ठूलो परिमाणमा क्लिङ्कर आयात गरेका थिए । आगामी आर्थिक वर्ष पनि क्लिङ्कर ल्याउनुपर्ने बाध्यता भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रब थापाले जानकारी दिए ।
खानी सञ्चालन गर्न दिँदा कोरोना संक्रमणको कुनै पनि जोखिम हुँदैन । त्यहाँ चालक, सहचालक तथा डोजर चलाउने एक जना मात्रै हुन्छ । टिपरले बोकेर सिधै स्टोर गरिएको ठाउँमा ल्याएर झार्छ । त्यही भएर त्यहाँ कुनै पनि संक्रमणको जोखिम छैन भन्दा पनि सरकारले खानी सञ्चालनको अनुमति नदिँदा बाध्य भएर क्लिङ्कर आयात गर्नुपर्ने अवस्था आएको थापा बताउँछन् ।
‘सरकारलाई हामीले बारम्बार खानी सञ्चालनका लागि वातावरण बनाउन भनेका छौं,’ उनले भने, ‘तर, हाम्रो कुरा न स्थानीय सरकारले सुन्छ नत केन्द्र सरकारले नै ।’
वर्षादी सुरु नहुँदा मात्रै खानी चल्छन् । पानी पर्न थाले पछि बाटो हिलो हुने भएकाले खानी असोजसम्म बन्द हुन्छ । ४ महिनाका लागि अहिले नै चुनढुङ्गा स्टक गरेर राख्ने गरिन्छ । तर, सरकारले यही बेला निषेधाज्ञा गरेको र खानी सञ्चालन गर्न नदिएकाले आगामी आर्थिक वर्ष सिमेन्ट उद्योगले विदेशबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउनुपर्ने बाध्यता आउँछ ।
‘आफूसँग भएको खानी बन्द गर्ने, बाहिरबाट ल्याउनुपर्ने अवस्था आउनु दूर्भाग्यपूर्ण अवस्था हो,’ सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले भने, ‘हामीले बारम्बार सरकारलाई यस विषयमा जानकारी गराउँदा पनि कुनै समन्वय भएको छैन ।’