काठमाडौं । कालिञ्चोक जाने आन्तरिक पर्यटक होस् वा जिरी पुग्ने विदेशी पर्यटक दोलखा प्रख्यात छ । चरिकोट, दोलखाको सदरमुकाम भएकाले पनि आन्तरिक र विदेशी पर्यटकको ‘होल्डिङ सेन्टर’ हो ।
रातमा बास बस्न होस् वा दिनमा खाजा खान चरिकोटमा पुग्ने पर्यटकहरू त्यहाँबाट अघि हिँड्नुअघि आफ्नो थकान विश्राम गराउँछन् ।
यही ठाउँमा करिब २० वर्ष पुरानो होटल संगम छ । चरिकोटकै व्यवसायी सुदर्शन कार्कीले खोलेको यो होटल स्थापित होटलमध्येको एक हो ।
कोभिडअघि होटल व्यवसायबाट सन्तुष्ट रहेका कार्की अहिले कोभिडको मार पर्यटनमा परेसँगै बन्द गर्नुपरेपछि वैकल्पिक व्यवसायमा मास्क उत्पादन उद्योगमा हात हालेका छन् ।
गत वर्षको कोभिडको पहिलो लहरमा ठूलै असर पुर्याएको पर्यटन र होटल क्षेत्र विस्तारै तङ्ग्रिने तरखर गर्दागर्दै यतिखेर कोभिडको दोस्रो लहर सुरु भएको छ । फेरि मुलुकको अधिकांश क्षेत्रमा निषेधाज्ञा सुरु भएकाले कार्कीले आफ्नो होटललाई बन्द गरेर अहिलेको अत्यावश्यक मास्क उत्पादनमा लगानी गरेका हुन् ।

सरकारले गत वर्ष पनि लकडाउन(बन्दाबन्दी) गरेको थियो । सुरुमा एक साताका लागि गरिएको बन्दाबन्दी करिब ६ महिना लम्बिएको थियो । ६ महिनासम्म लम्बिएको लकडाउनका कारण धेरैले आफ्नो पेशा व्यवसायबाट हात धोएका थिए । अर्थात धेरैले आफ्नो पेशा व्यवसाय नै छोडेका थिए ।
विशेष गरेर पर्यटन क्षेत्र र वैदेशिक रोजगार क्षेत्रमा आबद्ध व्यवसायीहरू सबैभन्दा बढी मारमा परेका थिए । जसको असर अहिलेको निषेधाज्ञा पनि देखिन थालेको छ तर, केही यस्ता व्यवसायी छन्, जसले लकडाउनकै बेला वैकल्पिक व्यवसाय सुरु गरेर आफूलाई सफलता उन्मुख बनाएका छन् । यसैमा पर्छन् कार्की ।
गत वर्षको लकडाउनकै बेला उनले केही नयाँ काम गर्नुपर्छ भन्ने सोच राखेर काठमाडौंमा मास्क उत्पादन सुरु गरेका थिए । चरिकोटमा रहेको संगम होटल पुराना र स्थापित होटलका रूपमा लिइन्छ । तर, लामो समयसम्म लकडाउन हुँदा पर्यटकहरू नआएपछि होटलमा चाबी लगाएर उनले नयाँ कामको सुरुवात गरे ।
होटल नचलेर हरेस खानुभन्दा केही न केही नयाँ काम गर्नुपर्छ र समय सापेक्ष आफूलाई उभ्याउनुपर्छ भन्ने सोच राख्दै आएका कार्कीले करिब १ करोड रुपैयाँ लगानीमा मध्यपुर ठिमीमा संगम स्वास्थ्य सामग्री उद्योग स्थापना गरेका थिए ।
दैनिक १ लाख मास्क उत्पादन गर्ने क्षमता भएको सो उद्योगले अहिले ५० हजार मात्र उत्पादन गर्दै आएको छ । तर, अहिले भने मेसिन थप गरेर १ लाख थान उत्पादन गर्ने तयारी भएको उनले बताए ।

उत्पादनअनुसार माग धान्न मुस्किल रहेको उनको भनाइ छ । दैनिक ५ लाख मास्कको माग आए पनि कच्चा पदार्थको अभावको कारण मागअनुसार उत्पादन गर्न नसकेको उनी बताउँछन् । अधिकांश कच्चापदार्थ भारतबाट ल्याउनु पर्ने भएकाले सामान अभाव भएको उनको भनाइ छ ।
उद्योगले गति लिएसँगै रोजगारी समेत धेरैले पाएका छन् । उनको उद्योगमा अहिले १७ जनाभन्दा बढीले काम गर्दै आएका छन् । त्यति मात्र होइन, चरिकोटको होटलमा काम गर्दै आएका आफ्ना कर्मचारीहरूलाई समेत काठमाडौंमा ल्याएर उद्योगमा रोजगारी दिएका छन् ।
होटल बन्द भएर रोजगारी गुमाउनुभन्दा त्यसको विकल्पमा अर्को काम दिएर रोजगारमुलक बनाएको उनले बताए । यसबाट होटलसँग आश्रित कर्मचारीको परिवारलाई समेत राहत मिलेको उनी बताउँछन् ।
मास्क उद्योगमा उनीसँगै छोरीलाई समेत जिम्मेवार बनाएका छन् । अहिले छोरी एलिना कार्कीले उद्योगको सम्पूर्ण व्यवस्थापन सम्हालिन्छन् । निषेधाज्ञाको बेला घरमा त्यतिकै राख्नुभन्दा केही जिम्मेवारी दिए उनीहरूले दायित्व बोध गराएको बताउँछन् । व्यवसायमा विस्तारै छोरीलाई आबद्ध गराउँदै लैजाने सोचका साथ केही जिम्मेवारी दिँदै आएको कार्कीको भनाइ छ ।

कार्की नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग वाणिज्य परिषदका उपसभापति एवं पेट्रोलिएम डिलर्स एसोसिएसन बागमती प्रदेशका संयोजकसमेत हुन् ।
लामो समयदेखि चरिकोट र जिरीलाई बेस बनाएर व्यवसाय सञ्चालन गर्दै आएका कार्कीले संगम ग्रुपमार्फत काम गर्दै आएका छन् । उनले होटल सँगै पेट्रोल पम्पसमेत सञ्चालन गर्दै आएका छन् ।