काठमाडौं । कोरोनाबाट आफ्ना कर्मचारी संक्रमित हुन लागेसँगै उत्पादनमा गम्भीर समस्या आउने देखिएपछि उद्योगीले मेडिकल टिमसहित आइसोलेसन सेन्टर निर्माण गरेका छन् ।
कोरोना भाइसरको दोस्रो भेरियन्टबाट धमाधम कर्मचारी संक्रमित हुन थाले पछि उद्योगीले मेडिकल टिम राखेर उनीहरुको उपचार गरिरहेका छन् ।
‘खाद्य उद्योग अत्यावश्यकभित्र पर्छ । उद्योग बन्द गर्न मिल्दैन । फेरि एउटा कर्मचारी संक्रमित हुने बित्तिकै भएभरका कर्मचारी जोखिममा पर्छन्,’ एक उद्योगीले भने, ‘संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राख्ने र त्यही डाक्टरसहितको मेडिकल टिमले उपचार गर्ने पनि गर्छन् ।’
डाक्टरको प्रत्यक्ष निगरानी हुने बित्तिकै अन्य कर्मचारीको पनि हौसला बढ्छ र जोखिम पनि कम हुने भएपछि सबै उद्योगले आइसोलेसन र डाक्टरसहितको मेडिकल टिम खडा गरेका हुन् ।
अहिले खाद्य उद्योगमा भएका कर्मचारीमध्ये ४० प्रतिशतलाई कोरोना संक्रमण भएको छ । त्यही भएर उद्योगले पूर्ण क्षमतामा उत्पादन पनि गर्न सकेका छैनन् । सरकारले खाद्य उद्योगका कर्मचारीलाई खोप लगाउने व्यवस्था नगर्दा अहिले उत्पादनमा समेत ठूलो समस्या भएको उद्योगीहरुले बताएका छन् ।
कतिपय उद्योगीले उद्योगभित्रै कर्मचारीलाई राखेर भए पनि खाद्य वस्तु उत्पादन गरिरहेका छन् । तर, ढुवानी गर्नैपर्ने र ढुवानी गर्नका लागि बाहिरबाट चालक तथा सहचालक आउने र उनीहरुका कारण पनि संक्रमणको जोखिम बढेकाले उद्योगीले अतिरिक्त खर्च गरेर मेडिकल टिम र आइसोलेसन सेन्टर बनाएका हुन् ।
उद्योगीले बारम्बार सरकारलाई आफ्ना उद्योगमा काम गर्ने कर्मचारीलाई खोपको व्यवस्था गरिदिन आग्रह गरेका थिए । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले सर्वसाधारणलाई लगाउने बेला एकैचोटि खोप लगाउने बताए पछि यस्तो समस्या निम्तिएको उनीहरुको भनाइ छ ।
सरकारले बेलैमा खोपको व्यवस्था गर्न नसक्दा एकातिर उद्योगको उत्पादन ४० प्रतिशत कटौति भएको छ भने अर्कोतिर यस्तै अवस्था कायम रहे खाद्यान्नको पनि अभाव हुने उद्योगीहरु बताउँछन् ।
‘फ्याक्ट्रीमा काम गर्ने एक पछि अर्को कर्मचारी संक्रमित हुँदै आइसोलेट हुन थालेपछि कसरी उत्पादन हुन्छ ?’ एक उद्योगीले भने, ‘कतिपय उद्योगमा त भएको मेडिकल टिम र आइसोलेसनले समेत भ्याउन सकेको छैन् ।’
खासगरी, विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायतका क्षेत्रमा भएका खाद्य उद्योगले अनिवार्य रुपमा आइसोलेसन सेन्टर बनाइसकेका छन् । यदि आफ्ना कर्मचारी संक्रमित भए त्यही आइसोलेसनमा राख्ने गरिएको छ ।