काठमाडौं । करिव पूर्ण अवस्थामा सञ्चालनमा आएका उद्योग व्यवसायलाई कोरोना महामारीको दोस्रो लहरले पुनः प्रभावित बनाएको छ । गएको मंसिर तथा २०७८ वैशाखमा गरिएको पुनरावृत्ति सर्वेक्षणले क्रमशः ५४ प्रतिशत तथा ८१.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको छ ।
यद्यपि, कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार÷व्यवसायहरु पुनः प्रभावित भएका छन । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरसम्बन्धी नेपाल राष्ट्र बैंकले २०७८ वैशाखको ५ देखि १४ गतेसम्म गरेको सर्वेक्षणले २०७७ असारको तुलनामा आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको देखाएको छ । २०७७ असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा थिए ।
बैंकले गरेको अध्ययनअनुसार अझै सञ्चालन हुन नसकेको उद्योग व्यवसाय ४.२ प्रतिशत रहेका छन । आँशिक रुपमा सञ्चालन भएका उद्योग व्यवसाय १४.६, उत्पादन तथा कारोबार अवस्था ६१.४ र रोजगारीको अवस्था ९३.८ प्रतिशत रहेको थियो ।
कोभिड–१९ को पहिलो लहरको संक्रमण कम हुँदै गएकोले बन्दाबन्दी क्रमशः खुकुलो गर्दै पूर्ण रुपले हटाइएकोले अधिकांश आर्थिक गतिविधिहरु चलायमान हुन थालेका थिए । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको छ ।
तर, कोभिड–१९ महामारीको कारण शिथिल भएको अर्थतन्त्र पूर्ण रुपमा पुनरुत्थान हुन नपाउँदै यसको दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्न समेत कठिन हुने केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएता पनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्र २.१ प्रतिशतले ऋणात्मक भएको तथ्याँक विभागले जनाएको छ ।