काठमाडौं । छिमेकी चीन र भारतबाट मात्रै सिमेन्ट उत्पादनमा ठूलो रकम वैदेशिक लगानी (एफडीआई) प्राप्त भएको छ । हालसम्म सिमेन्ट उत्पादनका लागि विभिन्न ४ वटा ठूला उद्योगमा ५६ अर्ब ९७ करोड रुपैयाँ एफडीआई भित्रिएको छ ।
एफडीआई ल्याउनेमा होङसी शिवम सिमेन्ट प्रालि, अर्घाखाँची सिमेन्ट र मारुती सिमेन्ट र हुवासिन सिमेन्ट नारायणी रहेका छन । ह्वासिनको कारखाना निर्माण अन्तिम चरणमा पुगेको छ । यसले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने छ । होङसी र ह्वासिन सिमेन्ट लगानी बोर्डमार्फत अघि बढेका हुन ।
होङसीमा हङकङ रेडलायन सिमेन्ट र होङसी ग्रुप चाइनाको ७० र बाँकी ३० प्रतिशत नेपालको शिवम सिमेन्टको लगानी छ । यसैगरी अर्घाखाँची सिमेन्टमा उमा इन्टरनेसनल भारतको १८ प्रतिशत र बाँकी ८२ प्रतिशत नेपालीको लगानी रहेको छ । मारुती सिमेन्टमा भारतको ग्राभिटी सेल्स प्रालिको २१ प्रतिशत र बाँकी ७९ प्रतिशत नेपालीको स्वामित्व रहेको छ ।
यो पनि हेर्नुहोस
वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिनु उपयुक्त-राष्ट्र बैंक
यसैगरी ह्वासिन सिमेन्ट नारायणीमा ह्वासिन सेन्ट्रल इन्भेष्टमेन्ट एसियाको १०० प्रतिशत लगानी रहेको छ । यसैगरी टियानी सिमेन्टमा लगानीकर्ताको नाम खुलेको छैन । यो उद्योगमा वैदेशिक लगानी आउने भएको छ । ह्वासिन र टियानी उद्योगले आगामी वर्षदेखि सिमेन्ट उत्पादन थाल्ने अनुमान गरिएको छ । टियानीले ७३० टन सिमेन्ट उत्पादन गर्ने बताइएको छ ।
वैदेशिक लगानीमा सञ्चालित ३ वटा सिमेन्ट उद्योगले दैनिक २७८३ टन सिमेन्ट उत्पादन गरिरहेका छन । वैदेशिक लगानीमा सञ्चालित उद्योगहरुको आफ्नै क्लिङकर प्लान्ट रहेका छन ।
सञ्चालनमा रहेका वैदेशिक लगानीका समेत गरी ५५ वटा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता १ करोड ५० लाख टन रहेको छ । आन्तरिक माग ९० लाख टन रहेको छ । उद्योगले क्षमताको आधा मात्र अर्थात ७४ लाख ८० हजार टन मात्र सिमेन्ट उत्पादन गरिरहेका छन । १५ लाख ६० हजार टन भारतबाट आयात गरिएको देखिएको छ ।
नेपालमा प्रतिव्यक्ति सिमेन्ट खपत सबैभन्दा कम रहेको अध्ययनले देखाएको छ । नेपालमा प्रतिव्यक्ति सिमेन्ट खपत ३०३ किलो, चीनमा १७१६, दक्षिण कोरियामा ११०२ र भुटामा ७३४ किलो खपत हुने गरेको छ । नेपालमा राष्ट्रिय गौरवका ठूला आयोजनाहरु निर्माणधिन अवस्थामा रहेको र जलविद्युत तथा सडक आयोजनाको काम धमाधम हुन थालेकाले सिमेन्टको माग बढ्ने गरेको छ ।
धेरै आयोजना पाइपलाइनमा रहेका कारण सिमेन्टको माग बढ्ने पक्षेपण गरिएको छ । नेपालमा पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन हुने गरेको छ । सरकारी र निजी स्वामित्वको तुलनामा प्रत्यक्ष विदेशी लगानी भएका सिमेन्ट उद्योगहरुको सञ्चालन र नाफा राम्रो रहेको एक अध्ययनले देखाएको छ ।
विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र लागत न्यून देखिएको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ ।
केन्द्रीय बैंकले नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः ‘आर्थिक सामाजिक प्रभावको अध्ययनले’ उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले सुझाएको छ ।
यसले सामाजिक तथा आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन । उद्योग वरिपरि रहेका जमिनको मूल्य वृद्धिका कारण ‘वेल्थ इफेक्ट’लगायतका सकारात्मक प्रभावहरु परेको भएता पनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको अध्ययनको निश्कर्ष छ ।
अध्ययनअनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।
प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।