काठमाडौं । झापाको कमल गाउँपालिकामा चिनियाँ लगानीमा निर्माण हुन लागेको चीन–नेपाल इन्डष्ट्रियल पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिका लागि लगानी बोर्ड बैठकमा पेश हुने भएको छ । लगानी बोर्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बस्ने बैठकमा सो पार्कको डीपीआर पेश गर्न लागेको छ ।
आउँदो बैठकमा औद्योगिक पार्कको डीपीआर स्वीकृतिको प्रस्ताव पेश हुने बोर्डका प्रवत्ता भुपाल बरालले जानकारी दिए । ‘प्रस्ताव तयार भइसकेको छ । आउने बोर्ड बैठकमा स्वीकृतिका लागि पेश हुनेछ’, उनले भने । बोर्डले डीपीआर स्वीकृत गरेपछि औद्योगिक पार्कको काम अघि बढ्ने छ । चिनियाँ कम्पनीले औद्योगिक पार्कको डीपीआर तयार पारी लगानी बोर्डमा बुझाइसकेको छ ।
यसअघि बोर्डले चीनबाट ६४ अर्ब रुपैयाँ विदेशी लगानी ल्याउन स्वीकृति दिइसकेको छ । विदेशी लगानी ल्याउन अब नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्दैन । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको २२०० विगाहामा पार्क निर्माण हुने औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताएका छन । निर्माण कार्य थालेको मितिले दुई वर्षभित्र पार्कको निर्माण सम्पन्न हुने थापाले जानकारी दिए ।
यो पनि हेनुहोस
औद्योगिक पार्क पूर्वाधारको काम सुरु, स्थानीय भन्छन्:जग्गा दिन पाउँदा खुसी छौं
१४०० विगाहा जमिन लिई सकेको बताउँदै उनले बाँकी अपुग जमिन लिने तयारीमा रहेको बताए । अब छिट्टै काम थालिने उनले बताए । औद्योगिक पार्ककको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन ।
चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

लगानी बोर्डसँग गरेको सम्झौताअनुसार पार्कमा ६४ अर्ब रुपैयाँ लगानी हुनेछ । सो रकम ६ चरणमा भित्रिने छ । लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालको सबै भन्दा ठूलो र नमूना हुने बताइएको छ । औद्योगिक पार्कमा मूख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्क सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई वटा पार्कहरु पनि रहने भएका छन् ।
औद्योगिक पार्कभित्र होमअप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतीय सूचना प्रविधिका सामग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने भएका छन् ।
पार्कमा विद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण, बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्कभित्र रहने कम्पनीले जनाएको छ । हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेका छन् ।
पहिलो चरणमा कृषि र खाद्यजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडीदेखि मोबाइल फोनसमेत ओद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ । औद्योगिक पार्क चार चरणमा निर्माण हुनेछ ।
नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा लगानी हुनेछ । पार्कमा औद्योगिक चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनी लिमिटेडको लगानी रहनेछ । स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको छ ।
सरकारले सो जग्गा ४० वर्षका लागि पार्कलाई भाडामा दिएको हो । पार्कमा सञ्चालन हुने उद्योगहरुबाट ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । पार्कमा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात गर्ने लक्ष्य छ ।
यसअघि औद्योगिक पार्क बनाउन बोर्ड र ल्हासा इकोनोमिकबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । पार्कको नाम चाइन नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क राखिएको छ ।
औद्योगिक पार्कले दमक नगरपालिका, गौरादह नगरपालिकाको क्षेत्रलाई पनि ओगट्छ । त्यहाँका स्थानियले आफ्नो क्षेत्रसँगै प्रदेशको नै विकास हुने भन्दै कतिपयले आफ्नो जग्गाहरु पार्क निर्माणका लागि निःशुल्क पनि दिएका छन् ।