काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो यात्रामै छ । जेठ ३१ गते हालसम्मकै उच्च ३०२५.८३ अंकमा पुगेको नेप्से त्यसयताका ११ कारोबार दिनमध्ये ३ दिन बजार बढे पनि बाँकी दिन भने घटेको छ । यो ११ कारोबार दिनमा करिब २०० अंकले बजार झरेको छ ।
यद्यपि, बीचबीचमा ३ दिन बजार बढ्दा ११० अंक बढे पनि बजारलाई टेको लगाउन भने सकेन । पछिल्लो समय निरन्तर कारोबार रकममा समेत गिरावट आउँदा प्यानिक सेलको प्रभाव देखिन्छ । बजार अझै घट्ने हल्ला चलाइँदा सर्वसाधारण लगानीकर्ता आत्तिएका छन् ।
बजार बढेका बेला प्रवेश गरेका लगानीकर्ताहरु बढी आत्तिएका छन् । र, घट्दो बजारमा स्टक लसको अवधारण लागू गर्न खोजेका छन् । सीमित सूचना लिएर कारोबार गर्ने ठूला र समूहगत लगानीकर्ताहरु भने अझै बजार घट्ने भन्दै वरपरका लगानीकर्ताहरुलाई नआत्तिन भनिरहेका छन् । आफूले सेयर खरिद वा बिक्री गरिसकेपछि वरपरकालाई सेयर बिक्री वा खरिल गर्न आग्रह गर्ने त्यस्ता लगानीकर्ता यतिबेला केन्द्रीय बैंकले आगामी महिना ल्याउने मौद्रिक नीतिका बारेमा विभिन्न अफवाह फैल्याउन व्यस्त छन् ।
यो पनि हेर्नुहोस
अझै उचाइको पूर्वसन्ध्यामा सेयर बजार, करेक्सनको संभावना कायमै
खासगरी, कतिपय अनलाइन सञ्चार माध्यमले तरलता अभाव भएको भन्दै व्याजदर बढाउन बैंकहरु सक्रिय भएको, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गर्ने हल्ला चलाएको र यदाकदा पुँजी वृद्धि गराउन मर्जलाई प्राथमिकता दिने नीति आउनेलगायतका हल्ला चलाइएको छ ।
उता, जलविद्युतसहित लगानी, विकास बैंक, फाइनान्स, लघुवित्तमा समेत मूल्य चलखेल भएको भनेर नियामक नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिकलगायतका कारणले बजारमा लगानीकर्ताको मनोबल खच्किँदै गएको देखिन्छ ।
ठूला लगानीकर्ताहरुले लगानीकर्ताको त्यही मनोभावलाई बुझेर बजार घटाउन प्रयासरत छन् । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) समेत यसबीचमा पर्ख र हेरको अवस्थामा छन् । आफूअन्तर्गतका लगानीकर्ताहरुलाई त्यही किसिमको सल्लाह दिइरहेका छन् ।
मंगलबार नेप्से ४७.४९ अंकले घटेर २८२८.०१ बिन्दूमा रोकिएको छ । यसदिन लघुवित्त बाहेक अन्य सबै १२ समूह सूचक घटेका छन् । सोमबार ५ अंक बढेर २८७५ मा कारोबार रोकिए पनि मंगलबार सुरुवाती कारोबारमा भने बजार बढेर २८८८ अंकसम्म पुगेको थियो । तर, त्यसपछि घट्न थालेको बजार धेरै घट्ने र थोरै बढ्ने हुँदै २८२३ बिन्दुसम्म झरेको थियो । तर, अन्तिम समयमा केही बढेजस्तो संकेत गरेको छ ।
मंगलबारको कारोबारले बुधबार सुरुवाती चरणमा बजार बढ्ने र मध्य समयतिर बजार सम्हालिँदै अघि बढ्ने सम्भावना छ । नेप्से सूचक २७०० लाई छोएर माथि जाने उत्तिकै सम्भावना छ ।
कारोबार रकम घटिरहेकाले लगानीकर्तामा मनोबैज्ञानिक त्रास भने कायमै छ । मंगलबार ६ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख कित्ता सेयर किनबेच भएको छ । गत जेठ ३१ गते कारोबार रकम करिब २० अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि निरन्तर नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटिरहेको छ । अझै केही दिन बजार सुस्ताएकै चरणमा रहने लगानीकर्ताको बुझाइ छ ।