काठमाडौं । चितवनको जुगेडीमा १ अर्ब २ करोड रुपैयाँ लगानीमा नयाँ औषधी उद्योग स्थापना भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा व्यवसायी अर्जुनकुमार श्रेष्ठलगायतको समूहले ओममेगाश्री फर्मास्युटिक उद्योग स्थापना गरेको हो । लगानी गर्नेमा श्रेष्ठसहित अन्य ४ जना छन् ।
पूर्वाधारको अन्तिम काम भइरहेको उद्योगबाट आगामी ६ महिनाभित्र औषधी उत्पादन हुनेछ । अहिले उद्योगले अनुसन्धान तथा विकास (आरएन्डडी) को काम गरिरहेको छ ।
ओममेगाश्री फर्मास्युटिकका अध्यक्ष श्रेष्ठले अहिले उद्योगमा पूर्वाधारको अन्तिमको काम चलिरहेको बताए । ‘हामीले प्लान्ट जडान गरिसक्यौं केही मेसिनहरू आउन बाँकी छ, त्यस्तै यहीबीचमा रिसर्च र डेभलपमेन्टका पनि काम गरिरहेको छौं,’ उनले भने । ‘हामीले ढिलोमा ६ महिनाभित्र उत्पादन बजारमा ल्याउने छौं ।’
३ विघा क्षेत्रफलमा फैलिएको उद्योगमा ५६ हजार वर्गफिटको मुख्य बिल्डिङ निर्माण गरिएको छ । उद्योगमा २२ फिट उचाइ कायम गरेर निर्माण गरिएको छ ।
ठूलो क्षेत्रफलमा एउटै बिल्डिङ र त्यसमा पनि उचाइ कायम गरेर निर्माण गरिएको औषधी उद्योग नेपालमा पहिलो भएको श्रेष्ठले बताए । उद्योगले सुरुमा कार्डियो डाइबिटिजबाट आफ्नो उत्पादन सुरु गर्छ । यसको ट्याब्लेट, क्याप्सुललगायत उत्पादन थालेपछि अरु औषधीको बजार हेरेर अनुमति दिँदै उत्पादन थाल्ने श्रेष्ठले बताए ।
‘हामीले बजार हेरेर औषधी उत्पादन गर्छाैं, हाम्रो गुरु योजनामा (मास्टर प्लान) भेटनरी औषधीहरू पनि छ, योजनाअनुसार नै उत्पादन गर्दै जान्छौं,’ उनले भने । ट्याब्लेट, क्याप्सुल, झोल औषधीको क्रमिक उत्पादन गर्नुका साथै खोपको पनि उत्पादनका लागि तयारी गरिरहेको उनले बताए ।
उद्योगका लागि प्लान्ट चीन र भारतबाट झिकाइएको हो भने औषधी उत्पादनका लागि कच्चापदार्थ टर्की, चीन र भारतबाट ल्याउन थालिएको श्रेष्ठले जानकारी दिए ।
‘उद्योग युरोपियन स्टान्डर्डमा छ, उत्पादनको गुणस्तर पनि सोही मापदण्डमा हुन्छ, हामीले निर्यातको तयारीका लागि भनेर पनि बजार अनुसन्धान गरेका छौं,’ उनले भने ।
उद्योगले ५० भन्दा बढी औषधी उत्पादनका लागि औषधी व्यवस्था विभागमा अनुमति मागेको छ । उत्पादन हुने समयमा थप औषधी उत्पादनको अनुमति पाउने उद्योगले जनाएको छ ।