काठमाडौं । गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह लिएका उत्पादनले मात्रै ‘मेक इन नेपाल’ लोगो लिन पाउने भएका छन् ।
पहिलो चरणमा विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएका उत्पादनले मात्रै मेक इन नेपालको गोलो लिन सक्ने कानुनी व्यवस्था गरिँदै छ ।
नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अन्तर्गत पहिलो चरणमा विभागले गुणस्तर चिन्ह प्रदान गरेका उत्पादनमा उक्त लोगो टाँस्ने व्यवस्था मिलाउन लागिएको छ । त्यसका लागि गुणस्तर विभागले गृहकार्य सुरु गरेको छ ।
स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले निजी क्षेत्रले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारको बलियो साथ एवम् साझेदारी रहेको छ ।
विभागका अनुसार पहिलो चरणमा एनएस प्राप्त उत्पादनले मेक इन नेपालको लोगो टाँसेर सामान निर्यात वा आन्तरिक खपत गर्न सक्छन् । यदि नेपाल गुणस्तर नलिएका उत्पादनले भने तत्काल लोगो पाउँदैनन् ।
मेक इन नेपालको लोगो सरकार तथा परिसंघले उपलब्ध गराउनेछ । त्यसका लागि एनएस चिन्ह प्राप्त गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।
मेक इन नेपाल स्वदेशीको मुख्य उद्देश्य
१) हरेक वर्ष हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने
२) कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने
३) पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने
५) पाँच वर्षभित्र डुइङ बिजनेस इन्डेक्स कम्तीमा ३० अंकले सुधार गर्ने र अहिलेको ९४ बाट ६४ मा उकास्ने,
६) पाँच वर्षभित्र स्वदेशमै आत्मनिर्भर बन्न सकिने प्रमुख १० वस्तुको उत्पादन बढाएर आयात ४० प्रतिशतले घटाउने
६) पाँच वर्ष पूर्वाधारमा जीडीपीको २० प्रतिशत खर्च गर्नुपर्ने
७) प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने
८) आयात प्रतिस्थापन गर्ने उद्योगहरू स्वदेशमै स्थापना गर्न प्रोत्साहित गर्ने
९) राष्ट्रिय स्वाभिमान बढाउने रणनीतिसहित औद्योगिक पूर्वाधार, कृषि, वैदेशिक लगानी र सेवा क्षेत्रको विकास गर्ने ।
उद्योगीको प्रश्न मेक इन नेपालको लोगो लिएपछि के हुन्छ ?
एनएस प्राप्त उत्पादनले मेक इन नेपालको लोगो लिएपछि पुग्ने फाइदाको विषयमा अहिलेसम्म केही थाहा पाएका छैनन् । मेक इन नेपालको लोगो लिएपछि निर्यात गर्दा भइरहेको झन्झट अन्त्य हुन्छ कि ? उत्पादित सामग्रीको खपत पढ्छ कि ? उत्पादन गर्दा चाहिने सामान आयातमा ब्यहोरिरहेको झन्झटको अन्त्य हुन्छ कि ? भन्ने उद्योगीको जिज्ञासा छ ।
‘आफ्ना सामानमा मेक इन नेपालको लोगो टाँस्दा हुने फाइदाका बारेमा अहिलेसम्म बुझ्न सकिएको छैन,’ एक उद्योगीले भने, ‘अहिलेसम्म मेक इन नेपालको लोगो किन लिने भन्ने बुझ्न सकेको छैन ।’