काठमाडौं । कोरोना भाइरस महामारीका (कोभिड-१९) कारण दुई वर्षदेखि व्यवसाय ठप्प भएर मारमा परेका रेष्टुराँ व्यवसायीहरु अहिले घरबेटीको दबाबमा परेका छन् । रेष्टुराँ व्यवसाय बन्द भए पनि नियमित रुपमा घरभाडा तिर्दैै आएको व्यवसायीलाई सम्झौता अवधि सकिएको भन्दै घर जग्गा खाली गर्न घरवेटीहरुले सार्वजनिक सूचना टास गर्न थालेका छन् ।
महामारीका कारण व्यवसाय बन्द भएपछि समस्यामा परेका व्यवसायीहरुलाई घरबेटीले दबाब दिन थालेसँगै उनीहरुलाई तनाब भएको छ । ललितपुरको झम्सिखेलमा रहेको सेभेन सिजन्स रेष्टुराँको सम्झौता अवधि सकिएको भन्दै साउन १ गतेबाट घर जग्गा खाली गराउन घरबेटी सरोजिनी श्रेष्ठले मुल गेटमा सूचना टासेकी छिन् ।
रेष्टुराँका सञ्चालक नरेशध्वज श्रेष्ठले कोरोना भाइरसको महामारीले दुई वर्षसम्म व्यवसाय बन्द हुँदा पनि नियमित रुपमा भाडा तिरेको र व्यवसाय सञ्चालन हुने बेलामा घरबेटीलाई घर जग्गा खाली गर्न दबाब दिएको बताए । नियमित रुपमा घरभाडा तिर्दा पनि घरबेटीले घर जग्गा छोड्न दबाब दिएको र सम्झौता अवधि थप गर्न आनाकानी गरेको प्रति आपत्ती जनाएका छन् ।
जब व्यवसाय सञ्चालन हुने बेला भयो त्यही बेला घरबेटीले छोड्नका लागि सूचना टाँसेर आफूमाथि अन्याय गरेको भन्दै यस विषयमा सरकारकोसमेत ध्यानाकर्षण गराएका छन् ।
सोमबार रेष्टुराँट एण्ड बार एसाेसिएसन (रेबान) ले सोही रेष्टुराँमा पत्रकार सम्मेलन गरी घरबेटीको उक्त निर्णय खारेज गर्न माग गरेका छन् । रेबानका अध्यक्ष अरनिको राजभण्डारी र महासचिव एकराज अधिकारीले कम्तिमा ५ वर्षसम्म रेष्टुराँहरुलाई एकै ठाउँमा सञ्चालन गर्ने वातावरण सरकार र घरबेटीले मिलाउनु पर्ने माग अघि सारेका छन् ।
सेभन सिजन्समा टासेको सूचना प्रतिनिधिमूलक मात्र भएको व्यवसायीको भनाई छ । अन्य रेष्टुराँमा पनि यस्तो समस्या देखिन थालेको सो अवसरमा जानकारी गराइएको थियो नेपालमा सञ्चालित रेष्टुराँमध्ये ९५ प्रतिशत भाडामै रहेको बताइएको छ ।
अधिकाशं रेष्टुराँका घरबेटीहरुले घर र जग्गा खाली गर्न दबाब दिइरहेको भन्दै सरकारले यस विषयमा गम्भिर भएर व्यवसायीको समस्याको समधानमा लाग्न महासचिव अधिकारीले अनुरोध गरेका छन् ।
रेबानका उपाध्यक्ष संघर्ष बिष्टले सरकारले सबै व्यवसाय खुला गरिसकेको अवस्थामा रेष्टुराँहरुलाई मात्र रोक लगाएको प्रति आपत्ति जनाएका छन् । उनले रेष्टुराँमा दैनिक ४ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कृषि जन्य उत्पादन खपत हुदै आएको छ ।
यस्तै १ लाख ५० हजार भन्दाबढीलाई रोजगारी दिएको क्षेत्रलाई सरकारले बन्देज लगाउनु गम्भीर विषय भएकोले यस विषयमा तत्कालै नयाँ निर्णय लिन सुझाव दिएका छन् ।
देशभरका करिब ३ हजार ५०० वटा रेष्टुराँहरु रेबानमा आबद्ध छन् । तिनीहरुबाट दैनिक १२ देखि १३ करोड रुपैयाँको कारोबार हुने गरेकोमा अहिले आम्दानी शुन्यमा झरेको व्यवसायीहरुले बताएका छन् ।