काठमाडौं । सरकारकै संरक्षणमा राप्ती अञ्चल संयुक्त ट्रंक यातायात व्यवसायीले सिन्डिकेट लगाउँदै अचाक्ली भाडा वृद्धि गरेका छन् । सरकारी अधिकारीहरु यातायात व्यवसायीसँग मिलेपछि उनीहरुले ५ हजार रुपैयाँसम्म भाडा वृद्धि गरेका हुन् ।
यस अघिसम्म ट्रान्सपोटरसँग नेगोसिएसनमा सामान ढुवानीको भाडा निर्धारण भइरहेको थियो । यसरी भाडा निर्धारण हुँदा गुणस्तरीय सेवा समेत दिइरहेका ट्रान्सपोटरले अब उप्रान्त राप्ती अञ्चल संयुक्त ट्रंक यातायात व्यवसायी समितिले तोकेभन्दा कममा सामान ओसार पसार गर्न नपाउने भएका छन् ।
समितिले एक सूचना जारी गर्दै समितिले तोकेभन्दा कम भाडा लिएर ढुवानी गरे ट्रक व्यवसायीलाई कारबाहीसमेत गर्ने चेतावनी दिएका छन् ।
विगत लामो समयदेखि ट्रकहरुलाई दिँदै आएको भाडा विभिन्न सिमेन्ट कम्पनीहरुले आफू खुसी घटाउँदै आएकाले सो भाडामा अबदेखि ट्रकहरु सञ्चालन गर्न नसक्ने अवस्थालाई मध्येनजर गर्दै, २०७८/४/१५ गतेदेखि लागू हुने गरी भाडा बढाइएको समितिले निकालेको सूचनामा उल्लेख छ ।
मिति २०७८/३/२७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (मन्त्रीस्तरीय)को सहमति लिएर भाडा बढाइएको समितिको दाबी छ । सरकारको सहमतिमै भाडा बढाएपछि सिन्डिकेटलाई सरकारले नै प्रश्रय दिएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा १५ का आधारमा सरकारले गरेको कार्यविस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा १ बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सोभन्दा बढी प्रदेश भइ सञ्चालन हुने यातायात रुटमा सञ्चालन हुने यातायातका सवारीहरुको भाडादर मिति २०७८/३/२९ गते को निर्णयअनुसार लागू हुने गरी भाडादर निर्धारण गरिएको समितिको दाबी छ ।
कोरोना महामारीबाट औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भइरहेका बेला ट्रक व्यवसायीले सिन्डिकेट चलाएर चर्को भाडा असुल्न थालेका हुन् । घोराही–महेन्द्रनगर पहिला १८ हजार रुपैयाँ थियो । अहिले २२ हजार ६८० रुपैयाँ पुर्याइएको छ । घोराही–धनगढी १७ हजार रहेकोमा अहिले २१ हजार ४२० रुपैयाँ पुर्याइएको छ ।
घोराही–सुर्खेत १७ हजार भएकोमा २१ हजार ४२०, घोराही–टीकापुर १५ हजार रहेकामा अहिले १८ हजार ९००, घोराही–नेपालगञ्ज १० हजार रहेकामा अहिले १२ हजार ६००, घोराही–कोहलपुर ९ हजार ५०० भएकोमा अहिले ११ हजार ९७०, घोराही–गुलरिया १२ हजार रहेकोमा अहिले १५ हजार १२० रुपैयाँ पुर्याइएको छ ।
