काठमाडौं । नेपालबाट पाम तेलको निर्यातमा विभिन्न अवरोध सिर्जना गर्दै आएको छिमेकी भारतले धागोमा पनि रोक लगाउने संकेत गरेको छ । पाम तेलमा कुनै पनि मूल्य अभिवृद्धि (भ्यालूएड) नभएको भन्दै आयातमा रोक लगाएको भारतले धागो निर्यातमा पनि ‘एन्टिडम्पिङ’ लगाउने तयारी गरेको छ ।
विदेशबाट कच्चा पदार्थ ल्याएर सतप्रतिशत भ्यालूएड गरेर भारत निकासी हुँदै आएको धागोमा भारतले एन्टिडम्पिङ लगाउने तयारी थालेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।
पाम आयलमा पनि ३० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुँदाहुँदै आयातमा रोक लगाएको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनमै ३५ प्रतिशत भन्दा बढी भ्यालूएड भएको देखिँदा पनि भारतले अटेर गरेर पाम आयलको निर्यात रोकेको थियो ।
निर्वाध रुपमा भारत निकासी हुँदै आएको पाम आयल अहिले अनेकन झन्झट व्योहरेर निर्यात भइरहेको छ । अहिलेसम्म धागो पनि भारतमा निर्वाध रुपमा निकासी हुँदै आएको छ । नेपालले गुणस्तरीय धागो बनाएर भारतीय बजारमा आफ्नो प्रभुत्व जमाइरहेको थियो ।
तर, त्यहाँका केही साना व्यापारीले नेपाली धागोको बारेमा नरेन्द्र मोदी सरकारलाई गतल रिपोर्ट दिएपछि एन्टिडम्पिङ लगाउन लागेको गोल्यानले बताए ।
नेपालबाट भारतमा ठूलो परिमाणमा धागो निर्यात हुँदै आएको छ । अहिले भारतीय साना उद्योगीको उक्साहटमा त्यहाँको बजारमा नेपाली धागो रोक्ने प्रयास भइरहेको उनको भनाइ छ ।
नेपालका उद्योगीले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस विषयमा जानकारी गराइसकेका छन् । वाणिज्य मन्त्रालयले भारतसँग कुटनीतिक पहल पनि सुरु गरेको छ । उद्योगीले परराष्ट्र मन्त्रालयमार्फत पनि उक्त विषय समस्या समाधान गर्न पहल गरिरहेका छन् ।
उद्योगीले शुक्रबार नै परराष्ट्र सचिव भरतराज पौडेललाई भेटेर यस विषयमा जानकारी गराउने भएका छन् । परराष्ट्र मन्त्रालयमार्फत कुटनीति पहल गरी एन्टिडम्पिङ लगाउने भारतको तयारीलाई रोक्नुपर्ने उद्योगीको भनाइ छ ।
टर्कीले जीएसपी अन्तर्गत दिँदै आएको सुविधा गत वर्षबाट रोकिएको छ । यसका कारण नेपालबाट टर्कीतिर निर्यात हुने धागोका परिमाण घटेको छ । अहिले पनि नेपाल अति कम विकसित मुलुकको सूचीमै रहेकाले उक्त सुविधा पुनः फर्काउन सरकारसँग उद्योगीले आग्रह गरिरहेका छन् ।
नेपालजस्तै समान मुलुक बंगलादेशले अहिले पनि जीएसपी सुविधा पाइरहेको छ । नेपालले सुविधा पाउन नसक्नुको कारण नेपालको कुटनीतिक पहल नपुगेको उद्योगीहरु बताउँछन् ।