काठमाडौं । नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्द्धन गर्ने उद्देश्यले साथ भर्चुअल माध्यमबाट सो कार्यक्रममा आयोजना भएकाो थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशील कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।
अध्यक्ष मल्लले बिचौलियाका कारण उद्यमीहरुलाई मूल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकाले सामूहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवं बजारीकरण गर्न सहज हुने बताएका छन् ।
साथै जिल्लास्तरमा सानो स्केलमा सहकारीमार्फत र केन्द्रीय स्तरमा लिमिटेड कम्पनीमार्फत कृषि क्षेत्रमा काम गर्न उनले सुझाव दिएका छन् । अध्यक्ष मल्लले महिला चेम्बरले पछिल्लो समय देखाएको सक्रियताको प्रशंसासमेत गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्षसमेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउँदै अघि बढ्दा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढ्न सघाउ पुग्ने जनाएकी छन् ।
श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तरक्रिया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार प्रबद्र्धन समेतमा मद्दत पुग्ने दाबी गरेकी छन् ।
त्यस्तै व्यापार, रुचि र विज्ञताले पनि सफलता हासिल गर्न अहम भूमिका खेल्ने र महिला उद्यमीहलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत जोडदै जाने उनबो भनाइ छ ।
कृषि विज्ञ डा. दीपक शर्माले आफूले १० वर्षदेखि जडीबुटीको विषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरीय उत्पादनमाथि केन्द्रित हुनुपर्ने बताए ।
जडीबुटीजन्य सामग्री उत्पादक एवं निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउँदा जडीबुटीजन्य सामग्रीको बजारीकरणमा समस्या हुने गुनासो गरेका छन् । आफूले टिमुर र अलैंचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरु लोकल मार्केटमा भन्दा अन्तरास्ट्रिय बजारमा बढी बिक्री गर्ने गरेको तिवारी बताउँछन् ।
सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथाबारे अनुभव राखेका थिए । सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवालगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफूले कर्णालीलगायत देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको बताइन् ।
त्यस्तै मौरी पालक महिला उद्यमी सरिता भट्टराईले आफू १० वर्षदेखि मौरी पालन गर्दै आएको बताउँदै शुद्ध महको माग विश्व बजारमा धेरै भएको जनाएकी छन् । अर्की चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटी आफूहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुने बताउँछिन् ।