काठमाडौं । महिला उद्यमी महासंघ नेपाल एफडब्ल्यूईएएनले पहिलोपटक अनलाइनमार्फत पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेलाको आयोजना सम्पन्न गरेको छ । कोभिडका कारण भौतिक रूपमा व्यापार मेला आयोजना गर्न चुनौतीपूर्ण बनेपछि महासंघले भदौ १७ देखि २१ सम्म ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ भर्चुअल रूपमा मेला आयोजना गरेको हो ।
मेलामा काठमाडौं जिल्लालगायत नेपालका विभिन्न जिल्ला संघहरूमा आबद्घ महिला उद्यमीहरूले सहभागिता जनाएका थिए । भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शन तथा तिनीहरूको सामग्रीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताहरूले भर्चुअल माध्यमबाट खरिद तथा बिक्री गरेका छन् ।
साे मेलामा महिला उद्यमीहरूको उत्पादनहरू अनलाइन ई–पोर्टलमार्फत प्रदर्शनी गरिएको थियो, भने विनबिजको साइटबाट बिक्री गरिएको थियो । साथसाथै महिला उद्यमीहरूका उत्पादनहरू सामाजिक सञ्जालहरू जस्तैः फेसबुक इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो ।
माग भईआएका सामग्रीहरू काठमाडौ उपत्यका लगायत काभे्रपलाञ्चोक जिल्लाका बनेपा, पनौती तथा धुलिखेल लगायतका सहरहरूमा डेलिभरी सेवा दिइएको थियो ।
महांसघले आयोजना गरेको यस भर्चुअल व्यापार मेलामा सातैवटा प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्वारा उत्पादित ११३० वटा सामग्रीहरूलाई विभिन्न ४ समूह (हस्तकला, कृषि तथा खाद्यान्न, व्यापार र सर्भिस) मा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो ।
यो प्रदर्शनी अवधिभरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल एक लाखभन्दा बढी दर्शकले भर्चुअल मेलाको अवलोकन गरेका थिए । नेपालमा नै पहिलो पटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूले आफ्ना सामग्रीहरूको प्रचार–प्रसारका गर्नुका साथै व्यवसायी देखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको छ ।
दी एसिया फाउन्डेसन, भिजा फाउन्डेसन, आईएलओ, यूके एड, एफसीए साथै बुमन्स बैंक जस्ता दातृ निकायले सहयोग गरेको उक्त अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार पाँच दिनसम्म सञ्चालन भएको थियो ।