काठमाडौं । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट आएको छ । आर्थिक वर्ष ०७६/०७७ सम्म भारतबाट सबैभन्दा बढी अर्थात ६२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त भएको छ । भारतपछि दोस्रोमा छिमेकी मुलुक चीन भएको छ । चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ एफडीआई आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तेस्रोमा सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ आएको छ । केन्द्रीय बैंकका अनुसार आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन ०७६/०७७ सार्वजनिक गर्दै २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको जानकारी दिएको छ ।
आर्थिक वर्ष ०७६/०७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४, रिजर्भ ३३.८ र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेपछि कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।
कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो । पछिल्ला वर्षहरुमा भारत र चीनबाट उद्योग र सेवाका साथै जलविद्युत क्षेत्रमा लगानी विस्तार भएको छ ।
नेपालमा अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, दक्षिण कोरिया र बंगलादेशलगायतका मुलुकहरुबाट एफडीआई आएको छ । आर्थिक वर्ष ०७६/०७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार पारिएको हो ।
