काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका पछिल्ला अभिव्यक्ति र गतिविधिले सेयर बजार थप धरासायी भएको छ । गतसाता नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)को कार्यक्रममा अर्थमन्त्री शर्माले दिएको अभिव्यक्ति र उनका पछिल्ला गतिविधिले सेयर बजारलाई प्रभावित बनाएको छ ।
सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११२ अंकले २७०० भन्दा तल पुगेको छ । गतसाता अर्थमन्त्री शर्माले सेयर बजारका बारेमा मलाई केही नभन्नू भनिएको छ, अहिले हावा भरेको बेलुन जसरी सेयर फुलेको छ भन्दै अभिव्यक्ति दिएका थिए ।
अर्थमन्त्रीको अभिव्यक्तिपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् । कतिपय लगानीकर्ताले अर्थमन्त्रीविरुद्ध आक्रोश पोखेका छन् । अर्थमन्त्री शर्माको गतिविधि पनि संकाशपद देखिएको छ । सेयर लगानीकर्ताहरुले केही समयदेखि अर्थमन्त्री शर्मालाई भेट्न खोजे पनि समय दिएका छैनन् ।
उता अर्थमन्त्रीको सचिवालयबाट सेयर बजार घटोस् कि बढोस् हामीलाई कुनै मतलव छैन भन्ने खालका सन्देशहरु प्रवाहित गरिरहेका छन् । यसखाले हल्लाहरुले सामाजिक सञ्जाल छपक्कै छ । तर, अर्थमन्त्री वा उनको सचिवालयबाट आधिकारिक कुनै जानकारी आएको छैन । यसले लगानीकर्ताहरुलाई थप आक्रोशित भएको छ ।
खासगरी, साउन २९ गते मौद्रिक नीति आएपछि लगानीकर्ताहरु संसकित थिए । यद्यपि, बजार केही सुधारिँदै हालसम्मकै उच्च विन्दु (भदौ २ मा ३१९८.६) थियो । त्यसपछि राष्ट्र बैंकले जारी गरेको निर्देशनमा सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा भन्दै प्रतिवित्तीय संस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ तोकेपछि बजार प्रभावित बनेको हो ।
लगत्तै अर्थमन्त्री शर्माको सचिवालयबाट गभर्नर महाप्रसाद अधिकारीसँग पछिल्लो निर्देशनकाबारे कुरा भएको र गभर्नर सच्याउन तयार भएको आशयको विज्ञप्ति जारी भयो । त्यसले एक दिन बजारमा उछाल पनि आयो । तर, अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा यसबारे आफूले केही कुरा नगरेको र सेयर बजार घट्छ वा बढ्छ भन्ने कुरा कसैलाई नभनेको बताएपछि बजार ओरालो लागेको हो ।
राष्ट्र बैंकको निर्देशनसँगै एकथरी लगानीकर्ता अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको राजीनामा माग गर्दै गतसाता आमरण अनशनमा बसेका थिए । तर, आमरण अनशनकारीलाई सरकारले तितरवितर पारेको थियो । यद्यपि, १८ बुँदै माग राखेर आन्दोलनमा होमिएका लगानीकर्ता मौन बसेका छैनन् ।
ती लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेट्न पटक-पटक प्रयास गरे पनि असफल भइरहेका छन् । त्यसले पनि अर्थमन्त्री शर्मा पुँजीबजार प्रतिनकारात्मक छन् भन्ने देखाउँछ । त्यही आशंकालाई बल पुग्ने गरी सेयर बजार सूचक तीब्रताका साथ घटिरहेको छ ।
सोमबार नेप्से सूचक ११४ अंकले घटेर २६९८.२५ अंकमा पुगेको छ । सोमबार कारोबार खुल्दा ६ अंकले बढेको भए पनि त्यसपछि भने निरन्तर घट्दो क्रममा रह्याे । यद्यपि, बीच-बीचमा बढ्ने कोसिस नभएको भने होइन । सोमबारसहित पछिल्लो ४ दिनमा मात्रै २५० अंकले बजार घटेको छ भने उच्च अंकबाट १९ काराेबार दिनमा ५ सय अंक घटिसकेको छ । नेप्सेको यो झराई करिब १६ प्रतिशत हो ।
बजार सूचक निरन्तर झरे पनि कारोबार रकम भने अघिल्ला दिनहरुभन्दा केही बढी छ । तर, गत बिहीबारको तुलनामा भन्दा कम हो । गत बिहीबार ९ अर्ब ३ करोड रहेकोमा सोमबार ८ अर्ब ४९ करोडमा सीमित भएको छ ।
कारोबार प्रवृत्ति, लगानीकर्ताको मनोबल, पुँजीबजारप्रति सरकारी दृष्टिकोण जस्ता कारणले बजार सूचक अझ घट्ने आंशका गरिएको छ । यद्यपि, यो साता बजारमा केही सुधार देखिने सम्भावना छ ।
न्यून बिन्दुमा सेयर खरिद गरिरहेकाहरुले नाफा बुक गर्न पनि एक लट बजार बढाउने कोसिस गर्ने छन् । समग्रतामा बजार घट्नुपर्ने कुनै कारण छैन । तर, सीमित लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नरमाथि दबाब सिर्जना गर्न र सस्तोमा सेयर उठाउन निरन्तर दबाब सिर्जना गरेकाले सूचक थप ओरालो लागेको हो ।
याे पनि हेर्नुहाेस्
दाेस्राे पटक उच्च अंकले घट्याे सेयर बजार, अर्थमन्त्रीको भनाइप्रति सेयर बजारको आपत्ति
लगानीकर्ताको आमरण अनशनः सेयर बजार सुधार कि दुनो सोझ्याउने दाउ !
२८०० मा रोकिएको सेयर बजारले आगामी साता देला सकारात्मक सन्देश !