काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैको महसुल घटाएर औद्योगिक क्षेत्रको डिमाण्ड शुल्क १०० रुपैयाँ बढाएको बताएका छन् ।
यद्यपि रातिको समयमा हुने बिजुली खपत बढाउन औद्योगिक ग्राहकको इनर्जी शुल्क पनि घटाएको उनले जानकारी दिएका छन् । प्राधिकरणले १३२ केभी लाइनमा लोड लिन चाहेमा उद्योगलाई तत्काल विद्युत दिन सक्ने उनले बताए ।
विद्युत नियमन आयोगले बिहीबार आयोजना गरेको विद्युत महसुल समायोजनका लागि विद्युत प्राधिकरणले गरेको प्रस्तावको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।
१३२ केभी लाइनको नजिक उद्योग आएमा तत्काल लोड दिने उनले जानकारी दिए । उद्योगहरुले ११, ३३ र ६६ केभी प्रसारणलाइनबाट मात्र बिजुली पाउने गरेका छन् ।
लाइन एकातिर र उद्योग अर्कोतिर भएर समस्या आएको बताउँदै घिसिङले ठूलो लाइनबाट उद्योगलाई बिजुली दिन वीरगञ्ज, विराटनगर र नवलपरासीलगायतका करिडोरमा १३२ केभीमा लोड दिने प्रक्रिया अघि बढाएको जानकारी दिए ।
१३२ केभीमा आउँदा महशुल सस्तो पर्ने घिसिङको भनाइ छ । यस्तै प्राधिकरणले २२० र ४०० केभी लाइन बनाइसकेकाले औद्योगिक क्षेत्रमा दिने भएको उनले सुनाए ।
यस्तै प्राधिकरणले २० युनिटसम्म खपत गर्ने आम ग्राहकहरुको इनर्जी शुल्क घटाउन प्रस्ताव गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । २० युनिटसम्म खपत गर्ने ग्राहकको संख्या २० लाख बढी छ ।
यस्ता ग्राहकलाई प्राधिकरणले इनर्जी शुल्क शुन्यको प्रस्ताव गरेको छ । न्यूनतम ३० रुपैयाँ तिरे पुग्ने भएको छ । गत वर्ष १० युनिटसम्म निःशुल्क गरेको थियो ।
यस्तै सिँचाइमा प्रस्ताव गरेको विगत वर्षमा कम थियो । ४ रुपैयाँ २५ पैसा भएकोमा २ रुपैयाँ २५ पैसा प्रस्ताव गरिएको छ । सिँचाइलाई प्राथमिकता दिएको छ ।
इन्डक्सनका ग्राहकको संख्या बढाउन २५१ युनिटसम्म खपत गर्नेलाई ५० पैसा घटाएर ९ रुपैयाँ ५० पैसा गरेको छ । प्राधिकरणलाई बढ्ने दायित्व चुहावट नियन्त्रण र खपत बढाउने प्रस्ताव गरेको छ ।