काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट बिजुली लिन उद्योगीहरुलाई बोलाएको छ । ठूला उद्योगहरुले माग गरेमा तत्काल १३२ केभी प्रसारण लाइनबाट बिजुली दिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
१३२ केभी प्रसारण लाइनको आसपासमा रहेका ठूला उद्योगहरुले बिजुली मागे तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सकेसम्म प्राधिकरणको प्रसारण लाइन तथा सवस्टेशन नजिक उद्योग स्थापना गरी आवश्यक बिजुलीको माग गर्न कार्यकारी निर्देशक घिसिङले उद्योगीलाई अनुरोधसमेत गरेका छन् ।
प्राधिकरणले प्रसारणलाइन तथा सवस्टेशनबाट टाढा भएमा कहिलेसम्म के कति मात्रामा विद्युत शक्ति आवश्यक पर्ने हो खुलाइ माग्न अनुरोध गरेको छ ।
प्राविधिक दृष्टिकोणहरुबाट संभव भएसम्म तत्काल र नभएका स्थानहरुमा विद्युत प्राधिकरणल थप प्रसारण लाइन तथा सवस्टेशनको विस्तार गरी आपूर्ति गर्ने उनले जानकारी दिएका छन् ।
आगामी डेढ वर्षभित्र हिउँदमा पनि बिजुलीमा आत्मनिर्भर भइसक्ने उनले बताए । अहिले वर्षाको समयमा बिजुलीको माग भन्दा उत्पादन बढी भएकाले खेर जाने अवस्था सिर्जना भएको कुलमानको भनाई छ । देशभित्रै बिजुलीको खपत बढाउन प्राधिकरणले योजना बनाएर अघि बढेको कुलमानले सुनाए ।
उनले उद्योगिक क्षेत्रले मागेको बिजुली उपलब्ध गराउन प्रसारण लाइन तथा सवस्टेशनको विस्तार सुरु भएको जानकारी गराएका छन् । हाल प्राधिकरणले ३३ र ६६ केभी प्रसारण लाइनबाट मात्र औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति गरिरहेको छ ।
१३२ केभी प्रसारण लाइनबाट २०० मेगावाटसम्म बिजुली प्रवाह हुन्छ । यस्तै प्राधिकरणले आगामी दिनमा २२० र ४०० केभी जस्ता ठूला प्रसारणलाइनबाट पनि उद्योगहरुमा बिजुली आपूर्ति गर्ने कुलमानले जानकारी दिएका छन् ।
लाइन एकातिर र उद्योग अर्कोतिर भएर समस्या आएको बताउँदै कार्यकारी निर्देशक घिसिङले ठूलो लाइनबाट उद्योगलाई बिजुली दिन वीरगञ्ज, विराटनगर र नवलपरासीलगायतका करिडोरमा १३२ केभीमा लोड दिने प्रक्रिया अघि बढाएको जानकारी दिए ।१३२ केभीबाट बिजुली लिँदा महशुल सस्तो पर्ने घिसिङको भनाइ छ ।
यो पनि हेर्नुहोस
उद्योगहरुले १३२ केभी प्रसारण लाइनबाट पनि बिजुली पाउने