काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ३ गुणा वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर नेपाली उत्पादनमा परेको छ । तीन महिना अघिसम्म प्रतिटन ७५ डलरमा पाइने कोइलाको मूल्य अहिले २२५ डलर पुगेपछि नेपालमा उत्पादित सिमेन्ट र रडको मूल्य पनि वृद्धि भएको छ ।
उद्योगीका अनुसार रडको मूल्य प्रतिकेजी १० रुपैयाँ बढेको छ भने सिमेन्टको मूल्य पनि प्रतिबोरामै ५० रुपैयाँ वृद्धि भइसकेको छ । निकट भविष्यमै रडमा थप १० रुपैयाँ बढ्ने सम्भावना छ भने सिमेन्टको मूल्य थप ५० रुपैयाँ वृद्धि हुने उत्पादकहरुले आँकलन गरेका छन् ।
विश्व बजारमा कोइलाको हाहाकार हुँदा फलामको मूल्य वृद्धि भएको छ । फलामको मूल्य बढ्ने बित्तिकै रडको मूल्य बढ्नु स्वभाविक भएको उनीहरु बताउँछन् । केही दिन अघिसम्म प्रतिकेजी ८५ रुपैयाँमा पाइँदै आएको रडको मूल्य ९५ रुपैयाँ पुगिसकेको छ । यो मूल्य अभिवृद्धि कर (भ्याट) को मूल्य हो ।
त्यसैगरी, ओपीसी सिमेन्टको मूल्य पनि ५० रुपैयाँ बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी, पीपीसी सिमेन्टको मूल्य पनि ५० रुपैयाँ नै बढेर ४ सय ५० रुपैयाँ पुगेको छ । उत्पादकका अनुसार सिमेन्टमा पनि अझै ५० रुपैयाँ मूल्य बढ्ने देखिन्छ ।
उत्पादकका अनुसार रड र सिमेन्टमा तत्कालै १० प्रतिशत मूल्य बढ्छ । यदि विश्व बजारमा कोइलाको मूल्यमा कुनै सुधार आएन भने अझै मूल्य बढ्न सक्ने उद्योगीहरु बताउँछन् । केही उद्योगीले पहिल्यै सस्तोमा कच्चा पदार्थ ल्याएकाले अहिलेसम्म मूल्य वृद्धि नभएको हो । नयाँ मालबाट रड तथा सिमेन्ट बनाउन लागे पनि दुवै वस्तुको मूल्य बढेको हो ।
रड तथा सिमेन्ट बनाउन कोइलाको योगदान २० प्रतिशतभन्दा बढी हुने उद्योगीहरुको दाबी छ । कच्चा पदार्थको रुपमा प्रयोग हुने कोइलाको मूल्य तीन गुणा बढेकाले त्यसको प्रत्यक्ष असर रड तथा सिमेन्ट उत्पादनमा परेको हो । त्यसैगरी, इँटाको मूल्य पनि बढ्ने भएको छ । इँटा पोल्नका लागि पनि कोइलाको प्रयोग गरिन्छ ।
उसै पनि अहिले निर्माणजन्य सामग्रीको मूल्य बढ्ने गर्छ । किनभने यो बेला विकास निर्माणको कामले गति लिने बेला हो । तर, अहिले कोइलाका कारणले मात्रै मूल्य बढेको उद्योगीहरु बताउँछन् ।