काठमाडौं । आगामी डेढ वर्षभित्र औद्योगिक क्षेत्रमा मात्रै थप १ हजार मेगावाट बिजुलीको माग हुने देखिएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको आन्तरिक अध्ययनले डेढ वर्षभित्र थप १ हजार मेगावाट बिजुली उद्योगलाई चाहिने देखाएको हो ।
सिमेन्ट र डण्डीलगायत बढी बिजुली खपत गर्ने ठूला उद्योग आउने संभावनाका आधारमा प्राधिकरणले यो माग प्रक्षेपण गरेको हो । डेढ वर्षभित्र थप १ हजार मेगावाट बिजुलीको माग औद्योगिक क्षेत्रमा हुने भएकाले यसका लागि प्रसारण लाइन र वितरण प्रणालीको सुध्रिढीकरणमा काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘लोड दिन सक्ने गरी उद्योगहरुबाट माग आउने संभावना देखिएको छ । यसका लागि सवस्टेशन र प्रसारण लाइन पूर्वाधार बनाउने काम भइरहेको छ’ उनले भने । उद्योग आउने तराइका विभिन्न जिल्लाहरुमा व्यापक रुपमा प्रसारण लाइन र सवस्टेशन निर्माण बनाउने तयारी भइरहेको उनले सुनाए ।
पहिला ३३ र ६६ केभी प्रसारण लाइनबाट उद्योगहरुलाई बिजुली दिँदै आएकोमा अब १३२ केभी प्रसारण लाइनबाट सिधै दिन थालेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । हालसम्म १३२ केभी राष्ट्रिय प्रसारण लाइन भएकोमा बढेर २२० र ४०० केभीमा पुगेको छ ।
‘ठूला उद्योगलाई लोड दिन थालेका छौं । धेरै उद्योगबाट माग आएको छ । प्रस्ताव आउनसाथ स्वीकृति दिने गरेको छौं’ उनले भने ‘डण्डीको ब्लेड स्वदेशमा उत्पादन गर्दा सरकारले सहुलियत दिएका कारण ब्लेड उद्योगहरुले धेरै बिजुली मागेका छन् ।’ पछिल्लो समय डण्डी उद्योगहरुबाट बढी बिजुलीको माग आएको उनले सुनाए ।
साँझको बेला (पिक आवर) १६२० मेगावाटसम्म पुगेको छ । यो हालसम्मकै सर्वाधिक बढी माग भएको प्राधिकरणले जनाएको छ । यो तिहारमा १५०० मेगावाट मात्र बिजुलीको माग हुने अनुमान प्राधिकरणको छ ।
प्रणालीमा २००० मेगावाटको जडित क्षमता छ । सञ्चालनमा आएका आयोजनाहरुले अहिले १६०० मेगावाट बिजुली उत्पादन गरिरहेका छन् । अहिले कुलेखानी चलाउनु परेको छैन । धेरै वर्षपछि कुलेखानी ओभरफ्लो भएको छ । अझै पनि दिउँसो २०० र राती ५०० मेगावाट वचतमा रहेको घिसिङले जानकारी दिए ।
यो वर्षको वर्षादमा बिजुली वचत भए पनि आगामी वर्ष यस्तो अवस्था नआउने अनुमान प्राधिकरणको छ । विद्युतीय सवारीको माग बढेको छ । जति माग आए पनि आपूर्ति गर्न सकेको अवस्था देखिएको छ । गाडी र इन्डक्सन चुलोले बिजुलीको माग बढाउने उनको भनाई छ ।
बिजुलीको बचत भएपछि धेरै उद्योग आउने आत्मविश्वास बढेकोले यस क्षेत्रबाट माग बढ्दै गएको उनको भनाई छ । ‘२४ सै घण्टा भरपर्दो बिजुली कसरी दिने भन्नेमा प्राधिकरण लागिरहेको र यसका लागि धेरै पूर्वाधार बनाउनुपर्ने भएको छ’ कुलमानले भने ‘वितरण प्रणाली नेटवर्किङ विस्तारको काम भइरहेको छ ।’
काठमाडौंमा २००० मेगावाटको माग धान्न वितरण प्रणालीको निर्माण भइरहेको कुलमानले जानकारी दिए । चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ ।