काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गरे ।
“लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन्,” उनले भने ।
मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको धारणा राखे । “रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ,” उनले भने । अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत उनले बताए ।
मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राखे । “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन्,’ उनले भने । रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले जानकारी दिए ।
मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे । “संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उनले भने ।
निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिए । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाप्रमुख महेश खरेललगायतले परियोजना सफलताको कामना गरेका थिए । उक्त अवसरमा खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नपा र खानेपानी उपभोक्ता समितिबीच परियोजना सम्पन्न गर्न चौ–पक्षीय सम्झौता भएको थियो । सो आयोजना एसियाली विकास बैंक (एडीबीको रु दुई अर्ब १० करोड ऋण तथा खानेपानी उपभोक्ताको रु ११ करोडको लागतमा आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस
–––