काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालक ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा छुटेका छन् । सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिबाना माग गर्दै मुद्दा चलाएका श्रेष्ठ १५ लाख धरौटीमा छुटेका हुन् ।
उच्च अदालत पाटनको गत बिहीबारको आदेशअनुसार उनी धरौटी रकम बुझाएर आइतबार छुटेका हुन् । गत बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएका थिए ।
तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नु नपर्ने देखिएकाले उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकाे थियाे । यद्यपी, अदालतले उनको अन्त कतै मुद्दा छ वा छैन भनेर बुझ्न केही दिन थुनमा राखेकाे थियाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर काठमाडौंमा पठाएको थियो ।
उनीबाट दुई वटा मोबाइल र दुई वटा ल्यापटप बरामद भएकाे थियाे । बरामद गरिएका ग्याजेट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा विश्लेषण गर्दा उनको विभिन्न विदेशी बैंकहरूमा करोडौं रकम रहेको खुलेको थियो । प्रहरीका अनुसार उनको अष्ट्रेलिया, क्यानडासहितका देशका बैंकमा खाता र रकम देखिएको थियाे ।
यस्तै, नउनीसँग करिब ४८ करोडको सम्पत्ति देखिएपछि प्रहरीले जिल्ला न्यायाधिवक्ता कार्यालमा काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ताले चलाएको मुद्दामा श्रेष्ठलाई एक अर्ब ४४ करोड १४ लाख १७ हजार ६४४ सम्म जरिबाना गर्न माग गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतले साउन २४ मा उनीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे थियो । आदेशअनुसार डिल्लि बजार कारागारमा रहेका उनले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले उनलाई १५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियाे ।