काठमाडौं। नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) छिमेकी भारतबाट आएको छ। आर्थिक वर्ष २०७७/७८ सम्म भारतबाट सबैभन्दा बढी ७५ अर्ब ८१ करोड ४२ लाख रुपैयाँबराबर लगानी आएको छ।
अघिल्लो वर्ष भारतबाट ६२ अर्ब ४५ करोड लगानी प्राप्त भएको थियो। भारतपछि दोस्रोमा अर्को छिमेकी चीन छ। चीनबाट ३३ अर्ब रुपैयाँ लगानी प्राप्त भएको छ। अघिल्लो वर्ष चीनबाट ३० अर्ब ९७ करोड एफडिआई आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
तेस्रोमा युरोपकाे आयरल्याण्ड छ। आयरल्याण्डबाट १६ अर्ब ४८ करोड २१ लाख लगानी आएको छ। अघिल्लो वर्ष १२ अर्ब ९३ करोड आएको थियो ।
चौथोमा सिंगापुर छ। त्यहाँबाट १५ अर्ब ४८ करोड १७ लाख रुपैयाँ लगानी आएको केन्द्रीय बैंकले जनाएको छ। सिंगापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो।
सेन्ट क्रिस्ट्स एन्ड नेभिस पाँचौ स्थानमा झरेको छ। यो वर्ष त्यहाँबाट आउने लगानी घटेर १४ अर्ब ५१ करोड ३१ लाखमा सीमित भएको छ। अघिल्लो वर्ष १५ अर्ब २७ करोड लगानी आएको थियो।
अस्ट्रेलियाबाट १२ अर्ब १६ करोड ३४ लाख आएको छ। युनाइटेड अरब इमिरेट्स (युएई) बाट ८ अर्ब ३५ करोड, अमेरिका ६ अर्ब ७० करोड ९७ लाख र बंगलादेशबाट ६ अर्ब ३८ करोड ३५ लाख लगानी आएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै अन्य देशबाट २९ अर्ब ६९ करोड ८४ लाखबराबरकाे लगानी आएको छ। गत वर्ष ६ सय ४ कम्पनी वैदेशिक लगानी स्वीकृतिका लागि राष्ट्र बैंकमा पुगेका थिए।
राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७७/७८ सार्वजनिक गर्दै २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशबाट लगानी आएको जानकारी दिएको छ। अघिल्लो वर्ष ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो।
ऊर्जा, ग्यास, हिटर, उत्पादन, वित्तीय तथा बिमा र खाद्यमा भारतकाे लगानी छ। यस्तै चीनबाट पनि ऊर्जा, ग्यास, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी आएको केन्द्रीय बैंकले जनाएको छ। बैंकका अनुसार गत वर्ष १९ अर्ब ५१ करोड स्वीकृत भएको थियाे।
चुक्ता पुँजीमा पनि भारतको सबैभन्दा बढी हिस्सा छ। पुँजीमा भारतबाट ४२ अर्ब ९० कोड आएको छ। चीनबाट २३ करोड २० लाख र दक्षिण कोरियाबाट १० अर्ब २० करोड रुपैयाँ प्राप्त भएको छ। वैदेशिक लगानी मौज्दात बढेर २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ खर्ब ९८ अर्ब ५२ करोड थियो।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत छ। अघिल्लो वर्ष चुक्ता पुँजीको ५४.४ प्रतिशत थियो। यस्तै रिजर्भ ३१.६ प्रतिशत छ। अघिल्लो वर्ष ३३.८ प्रतिशत थियो। कर्जाको अंश बढेर १४.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष ११.८ प्रतिशत थियो।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी मौज्दातमध्ये औद्योगिक क्षेत्रमा आउने बढेको छ। समीक्षा वर्षमा बढेर ६०.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष ५६ प्रतिशत थियो। औद्योगिक क्षेत्रमध्ये ऊर्जा, ग्यास, स्टिम र एयर कन्डिसर क्षेत्रको ३०.८ र उत्पादनमुलकको २९.५ प्रतिशत छ। वैदेशिक लगानीको ३९.४ प्रतिशत रकम सेवा क्षेत्रमा छ। अघिल्लो वर्ष सेवा क्षेत्रमा ४३.९ प्रतिशत थियो।
यस्तै वित्त तथा बिमा क्षेत्रमा २६.९, खाद्यमा ५.७ र सूचना प्रविधिमा ४.८ प्रतिशत वैदेशिक लगानी मौज्दात छ। पछिल्लाे वर्षमा लगानीकर्ताको रोजाइमा जलविद्युत क्षेत्र परेको छ। यस क्षेत्रमा वैदेशिक लगानी बढ्दै गएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। कुल वैदेशिक लगानी मौज्दातमा ३० प्रतिशत जलविद्युत क्षेत्रमा लगानी छ । यस्तै जलविद्युतको चुक्ता पुँजीमा पनि ४० प्रतिशत लगानी छ। पछिल्लाे वर्षमा भारत र चीनबाट उद्योग र सेवाका साथै जलविद्युत क्षेत्रमा लगानी विस्तार भएको छ।
वैदेशिक लगानी महत्वपूर्ण स्रोत बनेको छ। नेपाल जस्तो विकासशील अर्थतन्त्रमा यो बढी महत्त्वपूर्ण छ। किनभने प्रविधि, सीप र विश्वव्यापी बजारमा पहुँचको स्थानान्तरणलाई अनुमति दिन्छ। नेपाल लगानी जुटाउन एफडिआई बढाउने प्रयासमा छ।

