काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिभा डबलीको पुरस्कार मोहराज पौडेलले प्राप्त गरेका छन्।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच प्रस्फुटन गराउँदै सार्वजनिक सरोकारका बिषयमा उपयोग गर्ने उद्धेश्यले मन्त्रालयबाट सञ्चालित प्रतिभा डबलीको पुरस्कार पौडेलले प्राप्त गरेका हुन। पौडेलले स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा थ्रीडी मोडलिङ आईडिया प्रस्तुत गरेका थिए।
त्यस्तै लोकेटयोर सिटिजन्स थ्रो स्मार्ट एडे«सिङका आईडिएटर रामदत्त भट्टले द्वितीय स्थान प्राप्त गरेका छन् भने सरकारी सेवा ट्र्याकिङ्ग प्रणालीमा इनोभेसनको प्रस्ताव गर्ने रविचन्द्र प्रधानले तृतीय स्थान हासिल गरेका छन्।
मन्त्रालयको कर्मचारी कल्याण शाखाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा उजागर गर्न ‘प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९’ बमोजिम प्रतिभा डबली कार्यक्रम सञ्चालन गरेको थियो।
कर्मचारी कल्याण शाखाले प्रतिभा डबली कार्यक्रममा इनोभेटिभ आइडिया प्रस्तुत गर्ने निजामती कर्मचारीलाई ३० दिनभित्र इनोभेटिभ आइडिया र प्रस्ताव पेश गर्न भनेको थियो। त्यसपछि सो कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत प्रस्ताव पेश गरेका थिए।
नविन सोच पेश गरी शीर्ष १० मा छनोट हुने स्थान प्राप्त गर्ने निजामती कर्मचारीको प्रत्यक्ष प्रस्तुतीकरण पश्चात मंगलबार विजेता घोषणा गरिएको हो। मन्त्रालयले गत वर्ष पनि चारवटा आइडिया छनोट गरी पुरस्कृत गरेको थियो। हाल सो आइडियाको कार्यान्वयन सम्भावनाबारे अध्ययन भइरहेको छ।