बनेपा। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटका सोनल देउजा केसी अचेल ढाका र मखमलको कपडाका चप्पल र जुत्ता बुनेर तयारी गर्ने काममा व्यस्त छिन्। अचेल ग्राहकको मागअनुसार थरिथरिका चप्पल र जुत्ता तयार गर्दै बिक्री गर्नु उनको दैनिकी बनेको छ।
सोही ठाउँका अस्मिता श्रेष्ठ जुत्तामा प्रयोग गर्ने फित्तामा विभिन्न थरिका बुट्टा भर्ने काममा व्यस्त छिन्। हरेक प्रकारका जुत्ता र चप्पलमा आकर्षक बुट्टा भर्दै फित्ता तयार गर्ने काममा उनको दिन बित्ने गरेको छ।
केसी र श्रेष्ठजस्तै सम्झना थापा र शर्मिला अधिकारीको दैनिकी पनि उस्तै छ। यसअघि घरमै गृहिणी भएर कृषि कर्ममा व्यस्त रहेका उनीहरू त्यसरी जुत्ता बुन्ने र बिक्रीका लागि तयारी गर्न खट्न थालेको करिब दुई महिना भयो। पनौती नगरपालिका–५ चौकोट बजार नजिकै पाँच जनाको समूह मिलेर ‘लक्ष्मी महिला उद्यमी’ पसल सञ्चालन गरेर आयआर्जन पेसामा लागेका हुन्।
केसी भन्छिन्, ‘काममा लागेपछि घर खर्च चलाउन, सहकारीमा बचत गर्न र छोराछोरीलाई सामान्य खर्च गर्न सहज भएको छ।’ अचेल उनीहरू बिहान छोरोछोरीलाई तयार गरी विद्यालय पठाएपछि बेलुकासम्म पसलमै व्यस्त रहन्छन्।
घरको काम र खेती किसानीबाहेक अरु काम नभएर भौतारिरहेको अवस्थामा टोलमै रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले महिलालाई उद्यमी बनाउने तालिम आयोजना गरेपछि व्यवसायमा लागेको उनीहरूले बताए।
सहकारी संस्थाले आधारभूत कोर्षको तालिम दिएपछि पसल नै सुरु गरेका उनीहरूले घरेलु तथा साना उद्योग र पनौती नगरपालिकाको सहयोगमा तालिम दिएपछि झन् सहज बनेको बताए। सुरुमा तालिम लिएलगत्तै पसल सञ्चालन गरेर उत्पादन गरेको चप्पल र जुत्ता गाउँलेले मन पराएर खरिद गर्ने र राम्रो भनेर तारिफ गरेपछि व्यावसायिक रूप दिन ऊर्जा मिलेको बताए।
तालिमपश्चात सहकारी संस्थाबाटै चार जनाले संयुक्तरूपमा एक लाख रुपैयाँ ऋण लिएर पसल सुरु गरेका हुन्। ‘हामीजस्ता गृहिणीले पैसाको अभाव व्यहोर्नुपरेको अवस्थामा यस पेसाले थप हिम्मत बढेको छ,’ केसीले भनिन्, ‘बजारीकरणका लागि समस्या छ।’
अर्का सञ्चालक श्रेष्ठले मागअनुसार उत्पादन भइरहेकामा धेरै सङ्ख्यामा बिक्रीका लागि आफूहरूले नजिकैको बजार र काठमाडौंका व्यापारीसित कुरा भइरहेको बताइन्।
सहकारी संस्थाको सचिवसमेत रहेकी उनले महिलाको आयआर्जनमा वृद्धि गराउनका लागि तालिमपश्चात उद्यमी बनाउने काममा सहकारी संस्थाले सहयोग गर्दै आएको बताइन्। तालिममा २० जना सहभागी रहेकामा अहिले आठ जनाले व्यवसाय सुरु गरेका छन्।
ढाकाको कपडा र मखमलको सामान्य एक जोर चप्पल र जुत्ता तयार गर्न दुई–तीन घन्टा लाग्छ भने ब्राइडलको जुत्ता तयार गर्न करिब एक हप्तासम्म लाग्ने गरेको श्रेष्ठले बताइन्। पसलमा ग्राहकको मागअनुसार कोलापुरी, क्रस, क्लोज सुज, ब्राइडल, बोमा र बटरफ्लाइलगायत थरिथरिका चप्पल जुत्ता उत्पादन गर्ने गरिएको छ।
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मैया महतले यसअघि गुडिया, मीठाइ, तरकारी खेती, पसुपालनलगायतका उद्यमशील तालिम सञ्चालन गर्दै आए पनि व्यावसायिकरूपमा प्रदान गरेको तालिम यो पहिलो भएको बताइन्।
यसअघि सञ्चालन गरेको तालिमअनुसारको काममा बजार अभावका कारण पनि व्यावसायिक बन्न नसकेको उनको भनाइ छ। ‘बजार नै नपाएपछि बनाएको सामान घरायसीरूपमा नै सीमित भएपछि इच्छा भए पनि त्यसले उद्यमी बनाउन सक्ने अवस्था नहुँदोरहेछ,’ उनले भनिन्, ‘तालिमले बजार पनि सहजै पाउने भएकाले महिलालाई उत्साहित बनाएको पाएकी छु।