काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको विवरण सार्वजनिक गरेको छ।
प्रतिष्ठानले कात्तिक १९ मा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेकामा उक्त संख्यामा प्रस्ताव दर्ता भएको हो।
अनलाइनमार्फत ८ हजार २०३ र २ हजार ४१ उद्यमीले कार्यालयमै आएर परियोजना प्रस्ताव दर्ता गराएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए ।
प्रतिष्ठानले तेस्रो पटक स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने भएको हो। सरकारले चालू आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड बजेट छुट्याएको छ।
प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्दै आएको थियो । तर, यस वर्ष बजेट कम हुँदा ५ देखि २० लाखसम्म कर्जा वितरण गर्नेछ।
नवउद्यम कर्जा कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन, अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, स्वास्थ्य सेवा, शिक्षा, अटोमोबाइल, खाद्य उत्पादन तथा प्रशोधनलगायत क्षेत्रका लागि दिइनेछ।
सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब विनियोजन गरे पनि ८८ करोड ६६ लाख २५ हजार कर्जा बाँडेको थियो। प्रतिष्ठानले गत आर्थिक वर्षमा ६ सय जनालाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो।