काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन माग गरेको छ। प्रतिष्ठानले आज सूचना जारी गरी स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्तावसहित आवेदन मागेको हो।
सूचनाअनुसार स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको हुनुपर्ने भनिएको छ। यस्तै, कर्जा लिन चाहने आवेदकले सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको हुनुपर्नेछ।
कर्जा माग गर्न चाहने इच्छुक उद्यमीले आजदेखि मंसिर १० सम्म परियोजना प्रस्ताव पेस गरिसक्नुपर्नेछ। परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार पारेर अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
केही साताअघि उद्योगमन्त्री अनिलकुमार सिन्हाबाट सार्वजनिक कार्ययोजनामा माघभित्र स्टार्टअप कर्जाका लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो। सोहीअनुसार प्रतिष्ठानले आवेदन मागेको हो।
यसअघि कात्तिक १४ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ संशोधन गरेको थियो। कार्यविधि संशोधनसँगै सरकाले यसअघि वितरण गर्दै आएको स्टार्टअप उद्यम कर्जाको सीमा घटाएको छ।
संशोधित कार्यविधिअनुसार अब स्टार्टअप उद्यमीले कर्जाबापत २० लाख रुपैयाँ ऋण लिन पाउनेछन्। यसअघि यस्तो कर्जा २५ लाख रुपैयाँ थियो। सरकारले तीन प्रतिशत ब्याजमा उद्यमीलाई २५ लाख रुपैयाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गर्दै आएको थियो। अब उद्यमीले बिनाधितो ३ प्रतिशत ब्याजमा २० लाख स्टार्टअप उद्यम कर्जा पाउनेछन्।
सरकारले आज चालू आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा वितरण सुरु गर्न आवेदन मागेको हो।आव २०८१/८२ मा स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ मध्ये ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।
सरकारले चालू आवका लागि स्टार्टअप उद्यम कर्जाको बजेट रकम पनि घटाएको छ। गत आर्थिक वर्षमा यस्तो रकम १ अर्ब वितरण गरिएकामा चालू आवका लागि घटाएर ७३ करोडमा झारिएको छ।
